
-संजिव कार्की:
श्रीमान् मेडिकल माफिया ज्यू
आज म तपाईंको नाम नै नलिएर भनौ यहि नाम तपाईंको परिचय र चिनारीको लागि काफी सम्झेर माफिया सम्बोधन मार्फत केही जिज्ञासा राख्दैछु । द्रव्यले सबथोक हुन्छ । द्रव्य नै सबथोक हो द्रव्य जसरी कमाए पनि जायज हुन्छ भन्ने मानसिकता बोकेको एउटा धनी मान्छेलाई बिना नाम सम्बोधन गर्नु परेकोमा म खिन्न छु । उदास छु । त्यति पवित्र नाम दुर्गालाई अपवित्र धन्दा गरेर कलंकित पार्नु भएकोमा यहाँ प्रति मेरो कुनै गुनासो छैन किनकी मलाई थाह छ संस्कृति मास्ने, संस्कृतलाई पाठयपुस्तकबाट झिक्ने अनि संस्कृत पढाए बापद ज्यान मार्ने अपराध गर्ने कर्म र त्यो स्कुलिङबाट आउनु भएको तपाईंबाट सु–संस्कृत भाषा इज्जत र सम्मानको अपेक्षा मेरो मुर्खता हो । तपाँईसँग जे छ त्यो देखाउनु भयो । तपाईंसग नभएको कुरा कहाँ खोज्नु कहाँ देखाउनु ? मेरो नजरले होइन जनताको नजरले मुल्यांकन गर्ने हो ।
विगत केही वर्ष देखि भनौ डाक्टर गोविन्द केसी बहुलाएदेखि तपाई पनि बहुलाउनु भएको छ । फरक यति छ डाक्टर केसी मानवीय सम्वेदना सहित मानवतावादलार्इ आफ्नो आदर्श राखेर बहुलाए । बहुजन हितायको आशय र ध्यानको लागि बहुलाए । गरिब र दुःखी जनताको पक्षमा बहुलाए तर तपाईं केहि सिमित मान्छेको लागि नव सामन्त, साहु महाजन र धनी मान्छेहरुको लागि बहुलाउनु भयो । केवल आफ्नो लागि, आफन्तको लागि अनि दिनरात पैसा पैसा भनेर बहुलाउनु भयो ।
आखिर बहुला त दुवैजना बहुला नै हो नि हैनर ? बृहतहित ,बृहत मान्छेहरुको स्वार्थको लागि बहुलाउनु र लघुताभाष पालेर पैसाको लागि बहुलाउनु, आफ्नो झिनो स्वार्थको लागि अर्काको जिउ ज्यान र गरिबीसँग खेलेर , उपहास गरेर बहुलाउनु । सुख सयल मोजमस्ती र गरिब मारेर बहुलाउनु मानवीय सम्वेदना भुलेर बहुलाउनु कति फरक कुरा हो । यसको हिसाब किताब कुनै दिन चुक्ता गर्दा झन बहुलाउनु पर्ने स्थिति आयो भने के हुन्छ महाशय ? पाप धर्ममा तपाईलाई विश्वास त नहोला तर सत्कर्मको फल र दुश्कर्मको फल यहि जुनीमा देखिन्छ प्राप्त हुन्छ भन्ने कुरामा अन्धविश्वास नै सहि म चै विश्वास गर्छु । अधिकांश नेपाली विश्वास गर्छन् । ढिलो होला तर कर्म अनुसारको फल चैं परलोकमा हैन यहि लोकमा पाइन्छ थोरै मात्र भए पनि हेक्का राख्दा राम्रो हुन्छ ।
माफिया ज्यु , सामान्य ब्यापार गर्दा त इमान र जमानको कुरा हुन्छ ब्यापारिक नैतिकताको कुरा हुन्छ । झन मेडिकल क्षेत्र र यसको सम्वेदनशिलताको विशिष्टताको पाटो बेग्लै हो । छुट्टै हो । यसलाई हेर्न, बुझ्न र जान्न चिन्न थाह पाउन द्रव्यमोहमा फसेका मान्छेलाई गाह्रो हुन्छ । यो बुझ्न त दिव्य चक्षु उघार्नुपर्छ । भित्री ज्ञानको ज्योति चहकिलो हुनुपर्छ । त्यो तपाईं सँग त कल्पना गर्न सकिन्न तर ब्यापार ब्याबसाय नै गर्नु छ भने अरु क्षेत्र रोज्नुस । सामाजिक मान्छे हुनुस । अब्बल गुणस्तर भएको अस्पताल खोलेर सेवा गर्नुस । किन मेडिकल कलेज नै खोल्नु प¥यो ? पैसा कमाउनु अपराध होइन तर पैसा कसरी कमाइयो, त्यो पैसाको लगानीको स्रोत के हो ? विशुद्ध काम गरेर पैसा कमाउनुस पारदर्शी हुनुस तपाईंलाई यो माफियाको पदवीले सुशोभित गरिन्न । उच्च आदर सत्कार र सम्मान सहित तपाईंको नामले सम्बोधन गरिन्छ । मेडिकल कलेजमा लगानी गर्न तत्पर हुने र जति पनि लगानी गर्न तयार हुने मान्छे तपाईं किन अरु उद्योग धन्दामा लगानी गर्न चाहना गर्नु हुन्न ? किन तपाईंको रोजाइमा यो मेडिकल क्षेत्र जस्तो सेवामुखी क्षेत्र ब्यापार ब्यावसाय र नाफाको सुरक्षित क्षेत्र बन्यो ? ब्यापार ब्याव्साय जोखिम मोलेर लगानी गर्ने क्षेत्र हो तर तपाईंले त ‘मार्सी चामल’को भात नेता र प्रधानमन्त्रीलाई खुवाएर ब्याव्सायिक जोखिमलाई कम गर्न कति सजिलो उपाय अपनाउनु भयो ।
हुनत तपाईंको एक छाक भातमा बिक्ने नेताहरूको नियत पनि धिक्कार र छि छि को विषय हो । तर पनि आफुलार्इ समाज सेवामा लागेको मान्छे उद्योग व्यवसायी र राजनीतिक मान्छे दावी गर्नेले एकछाक भात खुवाएको बिज्ञापन र पहुँचको धाक नसुहाउनु पर्ने हो । लाज हुनेलार्इ त लाज लाग्नु पर्ने कुरा र अवस्था हो यो । मार्सी चामल खुवाउनुस या ढिडो च्याख्ला , खोले फाडो त्यो आफ्नो पाहुनालाई ब्यक्तिले गर्ने सम्मान सत्कार र अतिथि सत्कारको पक्ष हो । उसको स्वतन्त्रताको सबाल हो । तर आफ्नो स्वार्थको लागि पहुँच देखाउन देशका ‘पावरफुल’ मान्छेहरुलार्इ भात खुवाएको फोटो सामाजिक संजालमा राखेर गर्न खोज्नु भएको इज्जत हो कि बेइज्जत हो ? नाम दिन खोजेको हो कि दुर्नाम ? तपाईंको मार्सीजम थ्यौरी र प्राक्टिकल सफल बन्दैछ कि असफल ? समिक्षा गर्नु भएको छ ।
विगत केहि समय देखि तपाईं जसरी बर्बराउनु भएको छ , धताउनु भएको छ गोविन्द केसी लगायत केसी अभियान कर्मीलार्इ आरोपित र मान मर्दन गरिरहनु भएको छ यसको अर्थ तपाईं होसमा हुनुहुन्न या तपाईंको सबैभन्दा ठुलो संस्कृत र संकार नै यहि हो । तपाई माथिका आरोपलाई शालिन प्रतिवाद गर्न नसक्नु तपाईंको सवलता या दुर्वलता के हो दुनियाँ जान्द्छ ? पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीसँग तपाईंको पहुँच छ । उनीहरुलाई एक थाल भात खुवाउन तपाई सक्नु हुन्छ भन्ने बित्तिकै तपाईंलाई जे पनि भन्ने जसो पनि गर्ने र जसलाई पनि गाली गर्ने छूट छ सर ? तपाईं किन डाक्टर केसी लगायत सो अभियानमा लाग्नेहरुको हुर्मत लिन सधैं लाग्नु भएको छ ? अरुको चरित्र हत्या गर्नु तपाईं सफेद र बलियो हुनुको प्रमाण हो ? बिना सबुत , बिना दशी र प्रमाण कसैलाई मिथ्या आरोप लगाउनु अपराध हो कि होइन ? ट्वीट गरेको भरमा, फेसबुकमा सामान्य गाली गरेको भरमा साइबर क्राइमको दफा देखाएर सोझा र सर्वसाधारणलाई थुन्ने फसाउने , दुः ख दिने नेपाल प्रहरीले तपाईंको हातमा हत्कडीले सोभायमान बनाउन मिल्छ कि मिल्दैन ? नेपालको कानुन आकर्षित हुन्छ हुँदैन ? हालसालै बङलादेशमा पढन गएका चेलीहरुप्रति जुन दुर्वाच्य, लान्छना र आरोप लगाउनु भएको छ प्रमाणको रूपमा जुन भिडियो बाहिर आएको छ जसरी चरित्र हत्याको प्रयास गर्नु भएको छ त्यसको आधारमा अब तपाईंलाई प्रहरीले सलाम ठोक्नु पर्ने हो या जेलमा कोच्नु पर्ने हो ? नेपाली चेलीबेटी प्रति तपाईंले जुन अवाच्य बोल्नु भयो त्यो चोटको क्षतिपूर्ति अब कसरी पाउँछन् उनीहरुले ? उनीहरूको आत्मसम्मान र इज्जतमा लागेको कालो छिटा पखाल्ने कुनै औसधि छ तपाईंको पसलमा ? महिलाहरूको जुन र जसरी मानहानी गर्नु भएको छ त्यसको बिरोध गरेर तिव्र घृणा गरेर महिला आयोगले बोल्नुपर्छ कि पर्दैन ? कि भत्ता पचाउन र तपाईंलाई वचाउन मात्रै हो महिला आयोग ?
पैसाको लागि जे पनि बोल्ने र गर्ने विशेष छुट र विशेषाधिकार कतै तपाईंको नैसर्गिक हक नै हो कि ? छोरी चेलीको इज्जत सम्मान र प्रतिस्ठा तपाईंको पैसाको अघिल्तिर चुथ्थो हो ? डाक्टर केसीलाई तपाईंले जुन आक्षेप लगाएर आक्रमण गर्नु भएको छ उनको उच्च नैतिकता देश प्रतिको लगाव र निष्ठाले सबै निस्तेज छन । उनको बर्षौ बर्षको निष्ठापुर्ण समर्पणको अगाडि तपाईंको माफियागिरी गरेर कमाएको सम्पत्ति र तपाईको इज्जत त सधै बाम पुडके छ । उनको सादगी र निष्ठालाई तपाईंले सिधा नजरेले हेरेर कुरा गर्ने हैसियत राख्नु हुन्न । जति आम सर्वसाधारण नेपालीले उनीसँग सक्छ्न ।
माफिया ज्यु, तपाईंले आफ्नो दोकान बिएन्डसीलाई मापदण्डले नछेक्ने न रोक्ने अब्बल अस्पताल बनाउनुस तर कलेज खोलेर पैसा कमाउने धन्दा नबनाउनुस । तपाईंका नेताको स्वास्थ्य जति ठुलो र महत्त्वपूर्ण हो सर्वसाधारण नेपाली जनताको स्वास्थ्य पनि त्यतिकै महत्त्वपूर्ण हो होइन र ? तपाईंको अस्पतालमा कति ठुला नेताले उपचार गराए ? मार्सी चामलको भात खुवाएर फोटो सार्वजनिक गर्ने मान्छे तपाई केपी ओलीलार्इ रुघा लाग्दा थाइल्यान्ड र मेदान्त हैन झापाको बिएन्डसी लगेर सुताउनुस उपचारको प्रबन्ध गर्नुस ।
सिता मातालाई डिप्रेसन हुँदा बाहिर हैन यहीं उपचार गर्न भन्नुस । अनि फोटो सार्वजनिक गर्नुस । ब्लड प्रेसर र सुगर जाँच्न लाखौं खर्च गर्नु पर्दैन सामान्य खर्चमा तपाईंको औषधि दोकानमा गर्ने सल्लाह दिनुस् । दुई तिहाई बहुमतको दुहाइ र दम्भ देखाउन नेतालाई उकास्नु हुन्छ । तर दुई तिहाई जनमत थेग्ने त्यसको ब्यबस्थापन गर्ने र त्यसलाई परिचालन गर्ने क्षमता र ल्याकत पनि झन्डै दुई तिहाइ कै चाहिन्छ दुई औंसकोले हुन्न रहेछ भन्ने कुरा पनि बुझाइदिनुस । दम्भ र स्वार्थले फुल्नु र प्रभावकारिताका हिसाबले फैलनु फरक कुरा हुन भनेर सम्झाइ दिनुस । तपाईंले दिएका सबैकुरा नेताले खाने हुनाले मार्सी चामलको भात भित्र यो कुरो र चुरो पनि हालेर खुवाइदिनुस न सर । उही तपाईंको शुभेच्छुक…(लेखकः डा.केसी अभियानको अभियानकर्मी हुन)
प्रतिक्रिया दिनुहोस्