
विराज रोस्यारा
कैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन । पुल नबन्दा स्थानीयले काठे पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
कञ्चनपुरको कुष्णपुर नगरपालिका–९ का स्थानीय सामान्य आधारभुत आवश्यकताका लागि पनि धनगढीमा निर्भर हुने गरेका छन् । पुल नबन्दा औषधि उपचारदेखि दैनिकी चलाउनसमेत समस्या हुने गरेको कृष्णपुरकी स्थानीय मिना महराको गुनासो छ ।
पुन नहुँदा दैनिक उपभोग्या सामग्री बजारसम्म लैजान समस्या भएको उहाँ बताउनुहुन्छ । ‘दूध र तरकारी बेच्न जान समस्या छ,’ उहाँ भन्नुहुन्छ, ‘बर्खामा कैयौं मानिसहरूको मृत्यु समेत हुने गरेको छ ।’
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका भित्री बस्तीहरूको मुख्य बजार धनगढी हो । कृष्णपुरका ग्रामिण क्षेत्रमा उत्पादन भएको तरकारी, दूधलगायतका वस्तुले धनगढीमै बजार पाउने गरेको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन कैलाली कञ्चनपुरका स्थानीय मोहना नदी भएर आवतजावत गर्ने गरेका छन् ।
बाढी आएका बेला डुङ्गा चढेर वारपार गर्छन् भने अहिले रकम तिरेर अस्थायी रूपमा बनाइएको काठे पुल चढेर वारपार गर्ने गरेका छन् । दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तरेबापत स्थानीयले वर्षौंदेखि पैसा तिर्दै आएको स्थानीय शोभा राना बताउनुहुन्छ । ‘दुःख भए पनि पेटको लागि त गर्नैपर्यो नि हैन र ?’, उहाँ प्रश्न गर्नुहुन्छ ।
सडक डिभिजन कार्यालय कञ्चनपुरले २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग पुल निर्माणको सम्झौता गरेको थियो । ८ करोड रुपैयाँको लागतमा बन्ने पुलको सम्झौता अवधिमा निर्माण सम्पन्न नभएपछि तेस्रो पटक म्याद थपिएको छ । तर, तेस्रो पटक थपिएको म्याद पनि पुस मसान्तमा सकिएको छ ।
यता निर्माण कम्पनीका सञ्चालक चन्द्रशेखर मल्ल भने पुल निर्माण अन्तिम चरणमा रहेको दाबी गर्नुहुन्छ । ९५ प्रतिशत काम सकिएको बताउँदै उहाँले २०७७ चैत मसान्तभित्र पुल सञ्चालन हुने जिकिर गनुभयो ।
दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा स्थानीय दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैङ्किङ कारोबार, रोजगारी तथा औषधि उपचारलगायतका कामका लागि दैनिक चार सयभन्दा बढी धनगढी बजार पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्