
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष डबल डिजिट (दोहोरो अंक)मा आर्थिक वृद्धिदर हुने बताउनुभएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार विकासका काममा निरन्तर लागिरहेकाले आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हुने बताउनुभएको हो । उहाँले दिगो विकासको लक्ष्य २०३० भन्दा अगाडी नै पूरा गर्ने पनि बताउनुयो ।
प्रदेश प्रशिक्षण भवन समयमै सकिने बताउँदै प्रधानमन्त्री ओलीले भवन बनेपछि दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले शिलान्यास गरेको प्रतिष्ठान यसै आर्थिक वर्षदेखि निर्माण सुरु भएको वहुवर्षीय योजना हो ।

३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ । भवन निर्माणका लागि यो वर्ष साढे ६ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । भवन निर्माणका लागि प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमअन्तर्गत प्राप्त ५ करोड रुपैयाँको सशर्त अनुदान पनि भवनका लागि छुट्टयाइएको छ ।
४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने छन् ।
प्रतिक्रिया दिनुहोस्