
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामलाई समेटेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै संविधानलाई अझै पनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सभामुख सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भुमिका खेल्ने बताउनुभयो । उहाँले कानुनमा भएका स–साना छिद्र भित्र पसेर ठूला–ठूला अत्याचार हुने गरेकाले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
सभामुख सापकोटाले संसद पुनःस्थापनाको लागि नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । कार्यक्रममा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकारहरू सुशील पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई विशेष सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्