
काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको अपराजित यात्रा कायमै रहेको छ ।
सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० ले पराजित गर्यो । एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोलाई जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे ।
जितपछि सातदोबाटोले ८ खेलमा २२ अंकसहित दोस्रो स्थानको खुमलटार युथ क्लबसँग तीन अंकको अन्तर बनाएको छ । खुमलटारको ८ खेलबाट १९ अंक रहेको छ ।
यता रानीपोखरी कर्नर टिम आरसीटीले तेस्रो जित हासिल गरेको छ । सोमबार भएको पहिलो खेलमा आरसीटीले टुसाल युथ क्लबलाई १–० ले हरायो । अजित गुरुङले निर्णायक गोल गरे ।
जितसँगै आरसीटी ८ खेलबाट १२ अंकसहित लिगको पाँचौं स्थानमा पुगेको छ । १२ क्लब सहभागी लिगको शीर्ष स्थानमा रहने टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुँदा पुछारको टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्