
डिबी विष्ट
बझाङ । पुलको अभावमा बझाङ जिल्ला स्थित सेती नदी पारीका ६ वटा स्थानीय तहका ग्रामीण बस्तिहरूमा सवारी साधन सञ्चालन हुन निकै असहज भएको छ । कर तिरेर काठे पुलबाट सवारी साधन आवतजावत गर्नु पर्ने बाध्यता रहेको छ ।
जिल्लाको तमैल बजार नजिकै पक्की पुल निर्माण गर्न लागेको तीन वर्ष बित्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन । जसका कारण स्थानीयले झण्डै २३ लाखको लगानीमा सेतीमा वैकल्पिक पुलको व्यवस्था गरी सवारी साधन सञ्चालनमा ल्याएका छन् । पुलमा सवारी आवतजावत बापत दैनिक २ सय देखि १५ सय रुपैयाँसम्म कर तिर्ने गरिएको स्थानीय मेखराज रावल बताउनुहुन्छ ।
सेती नदीमा सबै भन्दा पहिला झण्डै ९ वर्ष अघिदेखि सुरु भएको देवशैनको पुल अझै अलपत्र अवस्थामा छ । यस्तै खप्तड छान्ना गाँउपालिका लाई जोड्ने तमैलमा बन्न लागेको पक्की पुल र झनाना बजार नजिकै बन्न लागेको पक्की पुल, देउरा नजिकै बन्न लागेको पक्की पुल निर्माणको काम समेत सुस्त भइरहेको छ ।
स्थानीयहरूलाई अस्थायी पुलकै भरमा नदी पार गर्नुपर्ने बाध्यता रहेको खप्तड छान्ना गाँउपालिका–६ का वडा अध्यक्ष तिलक खड्काको भनाइ छ । गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकाय पुल निर्माणमा संघीय सरकार र प्रदेश सरकारले चासो नदिएका कारण ढिला भएको बताउनुहुन्छ ।
राजनीतिक अस्थिरता, डीजाइन इस्टिमेटमा नै त्रुटि, जनप्रतिनिधिहरूले चासो नदिँदा पुल निर्माणमा ढिलाइ भएको नेपाली कांग्रेस बझाङका पार्टी सभापति हर्कजंगबहादुर सिंहको बुझाइ छ ।
सेती नदीमा अहिले ५ वटा पक्की पुल निर्माणधीन अवस्थामा छन् । पुलको काममा ढिलासुस्ती हुँदा जिल्लाको तल्कोट, मष्टा, थलारा, खप्तडछान्ना, साइपाल गाउँपालिका र जयपृथ्वी नगरपालिकामा सवारी साधन सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्