
बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गत फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा २२ गते स्थानीय लबलेक जंगलमा शव फेला परेको थियो ।
फागुन ४ गते पक्राउ परेका दिनेशमाथि अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिनुभयो । नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानुनी व्यवस्था रहेकाले त्यस अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।
अधिकृतले एक दुई दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भएको बताउनुभयो । प्रहरी हिरासतमा रहेका दिनेशले आफूले नै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । दिनेशमाथि कर्तव्य ज्यान मुद्दा र जवरजस्ती करणीविरुद्धको मुद्दा दर्ता भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्