१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा बैठक अघि सभामुखले दलहरूसँग छलफल गर्ने


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सुरुअघि दलहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।

आइतबारदेखि सुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई र बैठक कक्षको तयारी सम्बन्धमा जानकारी लिन संघीय संसद भवन नयाँ बानेश्वर पुगेर अवलोकन गर्नुभएका सभामुख सापकोटाले संक्षिप्त प्रतिक्रिया दिँदै भोलिदेखि दलहरूसँग छलफल गर्ने जानकारी दिनुभएको हो ।

सर्वोच्च अदालतको फैसलाले पुनःस्थापित भएको प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच प्रतिनिधिसभाका बैठक व्यवस्थित ढङ्गले सञ्चालन गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल सुरु गर्न लाग्नुभएको हो ।

सभामुख सापकोटाले बैठक सञ्चालनको लागि सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गर्दै सर्वोच्चको फैसला खुसी र गौरवको विषय भएको र संसद अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने बताउनुभयो ।

यता, संघीय संसद सचिवालयले आइतबारदेखि सुरु हुने बैठकको तयारी पूरा भइसकेको जनाएको छ । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संसदका सबै सांसद र कर्मचारीलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइँदैछ । यस्तै, सचिवालयले कोरोना संक्रमणलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्डका पूर्वाधारको पनि तयारी गरेको जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । तर, संवैधानिक इजलासमा २ महिना लामो बहसपछि फागुन ११ गते अदालतले विघटन बदर गर्नुका साथै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो ।