१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाइजेरियामा एक हप्तादेखि अपहरणमा परेका ३ सय विद्यार्थी अपहरणमुक्त


0
Shares

एजेन्सी । नाइजेरियाका तीन सय विद्यार्थी अपहरणमुक्त भएका छन् । उत्तरपश्चिमी नाइजेरियाको जामफारा राज्यको एक विद्यालयबाट अपहरण गरिएका छात्रा विद्यार्थीलाई अपहरणकारीले मुक्त गरेका छन् ।

गत हप्ता अपहरणमा परेका मध्ये ४२ जनालाई अपहरणमुक्त गरिएको थियो । मंगलबार बाँकी सबैलाई छाडिएको त्यहाँका सरकारी अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले जनाएको छ । अपहरणमुक्त गरिएका सबै सुरक्षित रहेको बताइएको छ ।

राष्ट्रपति मुहम्मु बुहारीले अपहरणकारीहरूले विद्यार्थीहरूलाई सुकुशल फिर्ता पठाएकोमा खुसी व्यक्त गर्नुभएको छ । १२ देखि १६ वर्ष उमेर समूहका ती छात्राहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ ।

फिरौतीका लागि विद्यार्थीहरूको अपहरण हुने गरेकोमा यो पटक भने किन र के का लागि अपहरण गरिएको हो भन्ने खुल्न सकेको छैन । उत्तरपश्चिमी र मध्य नाइजेरियाका विभिन्न स्थानबाट सशस्त्र आपराधिक गिरोहहरूले केही महिना यता आफ्ना गतिविधि बढाइरहेका छन् ।