१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनमा हात्तीको स्वास्थ्य परीक्षण सुरु


0
Shares

काठमाडौं । चितवनमा हात्ती मर्न थालेपछि हात्तीको स्वास्थ्य परीक्षण सुरु गरीएको छ ।

प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

सरकारी र निजी गरी १ सय १६ वटा हात्तीको स्वास्थ्य परीक्षण गरेर अवस्था पत्ता लगाउने प्रयास भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोस्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोस्टको शङ्करप्रसाद नाम गरेका हात्ती मरेका छन् ।

तत्पश्चात चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले संयुक्त रूपमा दुई हप्ते उपचार शिविर सुरु गरेको हो ।

शिविर सञ्चालन भएको पहिलो दिन प्रजनन केन्द्रमा रहेका ११ वटा माउ र नौवटा छावाको उपचार सुरु गरिएको छ ।

निकुञ्जमा अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि हात्तीको स्वास्थ्य जाँच सुरु गरिएको हो ।