१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलम्ची नगरपालिकामा सञ्चालित अधिकांश क्रसर मापदण्ड विपरीत


0
Shares

किरण थापा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योगहरु मापदण्ड विपरीत रहेको पाईएको छ ।

पालिकाले नगरभित्र सञ्चालित सबै क्रसरहरुको अनुगमन गरेको छ ।

नदीजन्य पदार्थ उत्खनन्को अवस्था, मापदण्डको पालना, प्रारम्भिक वातावरण परिक्षण प्रतिवेदन लगायत मापदण्डमा रहेर काम गरेको नगरेको विषयमा अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।

दिगोरुपमा नदीजन्य पदार्थको उत्खनन्लाई ध्यान दिदै वातावरण संरक्षण गर्ने कार्यमा आवश्यक जानकारी गराउन अनुगमन गरिएको अनुगमन पछि तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मापदण्ड विपरित गरिएका क्रियाकलापहरुको निषेध गर्न आवश्यक सहयोग गर्नु नै उद्देश्य रहेको नगरपालिकाले प्रस्ट्याएको छ ।

अनुगमनको क्रममा वातावरणीय परिक्षण प्रतिवेदनमा उल्लेख भएको ब्यबस्थालाई पूर्ण रुपमा पालना नगरि नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गरेको पाइएपछि क्रसर उद्योगहरुलाई मापदण्ड भित्र रही नदिजन्य पदार्थको उत्खनन् गर्न सुझाब दिइएको अनुगमन टोलीका सदस्य राजेन्द्र दुलालले जानकारी दिनुभयो ।

२ दशमलब ५ मिटर गहिराईसम्म मात्र उत्खनन् गर्नुपर्नेमा ३ मिटर गहिराइ सम्म उत्खनन् गरेको र उद्योग बाट निस्किएको धमिलोपानि समेत व्यवस्थित नगरेको पाइएपछि अनुगमन टोलीले यस्तो कार्य नगर्न क्रसर सञ्चालकलाई निर्देशन दिएको छ ।

नदि किनारबाट ५ मिटर छोडेर उत्खनन गर्नुपर्नेमा ३ मिटर मात्र छोडेर उत्खनन् गर्ने, दैनिक उत्खनन् अभिलेख नराख्ने र क्रसर सञ्चालनका विभिन्न मापदण्ड पालना नगर्ने क्रसरहरुलाई मापदण्ड भित्र रहेर मात्र उत्खनन् गर्न निर्देशन दिएको छ ।

तर नगरपालिकाले औपचारिकता मात्र पुरा गरेको स्थानीयको आरोप छ । अघिल्ला बर्षहरुमा पनि नगरले अनुगमन गर्ने गरेको भएपनि हालसम्म कसैलाई पनि कारवाही भने गरेको छैन् ।