
काठमाडौं । कोरोना महामारीका कारण एक वर्षअघिदेखि रोकिएको विशेष पूजा पशुपतिनाथ मन्दिरमा फागुन २५ गतेदेखि सुरू हुने भएको छ ।
कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरू गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिनु भयो ।
हाललाई रु १ हजार १ सय देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिने योजना छ । पशुपतिनाथ मन्दिरमा रु १ हजार १ सय देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो ।
फागुन २७ गते बिहीबार महाशिवरात्रीका दिन भने रु पाँच हजार १ सय र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि थापाले जानकारी दिनुभयो ।
यस्तै महाशिवरात्रिका दिन रु पाँच हजार १ सय को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।
कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्