१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनेकैबाट ठगिन्छन् विदेश जाने युवा, भिसाको फोटो पठाएर २ लाख रुपैयाँ स्वाहा !


26
Shares

नारायणी लामिछाने
काठमाडौं । दाङका निमप्रकाश विक, देवराज घर्ती, बलिराज घर्ती उनका भाइ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई गाउँकै विष्णु नेपालीले आफ्नै मेनपावर एजेन्सी भएको भन्दै पैसा पठाउन लगाए ।

क्लीनरको काम र कमाइ पनि राम्रै हुने आशामा ४ जना युवाले प्रतिव्यक्ति २ लाखको दरले नेपालीलाई रकम र पासपोर्ट बुझाए । केही दिनपछि भिसा लागेको भन्दै नक्कली भिसाको फोटो समेत मेसेन्जरमा पाए ।

छिट्टै उड्नुपर्ने भएकाले फागुन १० गतेभित्र काठमाडौं बोलाएका उनीहरू घरपरिवारसँग बिदा भएर काठमाडौं आए । काठमाडौं आएर विष्णु नेपालीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो । फागुन ४ गतेबाटै फोन अफ गरेका नेपालीसँग सम्पर्क हुन नसकेपछि उनीहरू सिनामंगलस्थित नेपाल मेनपावरमा पुगे ।

आफ्नो र भाइको गरी साढे दुई लाख रुपैयाँ बुझाएका बलिराज घर्तीले मेनपावरमा पुगेपछि चनेजानेकै व्यक्तिबाट ठगिएको थाहा पाए । देवराज घर्तीले पनि ऋण खोजेर रकम बुझाएको लामो समयसम्म पनि एजेन्टको अत्तोपत्तो नभएपछि मेनपावर खोज्दै काठमाडौं आइपुगे ।

वैदेशिक रोजगारीमा जान चाहनेलाई चिनेजानेकै व्यक्तिले ठग्ने क्रम जारी रहेको एउटा प्रतिनिधिमुलक घटना हो । वैदेशिक रोजगार विभागले नेपाल मेनपावर एजेन्सीको अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएको अनुगमन अधिकृत चेतन कुमार खत्रीले जानकारी दिनुभयो ।

पछिल्लो समय चिनेजानेका दलालहरूले नै ठग्ने, नक्कली भिसा बनाउने, फ्रि–भिसा फ्रि–टिकटका नाममा लाखौं लुट्ने घटना बढ्दो छ । तर, नियमनकारी निकायहरूले भने देखावटी कारबाही गरेर त्यस्ता कम्पनीहरूकै पक्षपोषण गरिरहेको छ ।