
दिपेन्द्र अधिकारी
काठमाडौं । गत पुसमा भएको सहमति कार्यान्वयनमा त्रिभुवन विश्वविद्यालयले आलटाल गरेको भन्दै आंशिक प्राध्यापकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आंशिक प्राध्यापकहरूको मागलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले गत पुुस २३ गते आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमति गरको थियो । करिब तीन महिना वित्नै लाग्दा पनि सहमति कार्यान्वयनमा विश्वविद्यालयले आलटाल गरिरहेको आंशिक प्राध्यापकहरूको आरोप छ ।
विश्वविद्यालयका पदाधिकारीको द्वेध चरित्रका कारण सहमति कार्यान्वयन हुनेमा आशंका जन्मिएको उनीहरूको भनाइ छ । विश्वविद्यालले गरेको सहमति अक्षरशः पालना नभए अझै शसक्त आन्दोलनमा जाने चेतावनी पनि आंशिक प्राध्यापक संघले दिएको छ ।
कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह करारमा नियुक्ति दिने सहमति भएको थियो । समान कामको समान ज्यालाको माग गर्दै आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएका थिए ।
त्यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाटै पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने सहमति पनि भएको थियो । सहमति कार्यान्वयनमा अलमल नहुने बताइरहेको त्रिविले फेरि आन्दोलनमा गए नयाँ सहमति हुने बताएको छ ।
२०७४ सालमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको एक हजार चार सय बीस करार दरबन्दी कार्यान्यवनका लागि प्राध्यापकहरूले दबाब दिँदै आएका थिए । हाल २ हजारका हाराहरीमा आंशिक प्राध्यापक कार्यरत छन् । आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्दा विश्वविद्यालयको छवि नै धुमिल भएको बुझाइ विश्वविद्यालयका पदाधिकारीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्