
डिबी विष्ट
बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले बझाङ जिल्लाका शाखा तथा कच्ची सडकहरुमा प्रतिकिलो मिटर ८ र पक्की सडकमा प्रतिकिलो मिटर ५ रुपैयाँ भाडा निर्धारण गरेको छ ।
तर व्यवसायीहरुले भने प्रतिकिलो मिटर २० देखि माथि कच्ची सडक र पीच तथा पक्की सडक खण्डमा ८ देखि १० रुपैयाँसम्म भाडा लिने गरेका छन् । यसको प्रत्यक्ष मारमा यहाँका सर्वसाधारण परेपनि सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीय कलक थापाको गुनासो छ ।
उहाँकाअनुसार प्रतिकिलो मिटर कच्ची सडकमा १० रुपैया तोकेको भएपनि २५ रुपैया र पक्की सडकमा ५ रुपैया तोकेको भएपनि १५ रुपैया लिने गरेका छन् । गाडीवालहरुले मनोमानी तरिकाले भाडा लिइरहेको गुनासो गदै प्रशासनको ध्यानाकपर्षण गराउनुभयो ।
सदरमुकाम चैपुरदेखि तमैल पुग्न झण्डै १० किलोमिट यात्रा गर्नुपर्छ । त्यहाँ पुग्दा कुनै व्यवसायीहरुले यात्रु अनुसार एकसयदेखि एक सय ५० रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् । प्रशासनले तोकेको दररेट अनुसार भाडादर ५० देखि ६० रुपैयाँ हो ।
प्रशासनले निर्धारण गरेको भाडादर नै कार्यान्वयन गर्नु पर्ने स्थानीय डम्मरबहादुर सुनार बताउनुहुन्छ । यात्रा गर्दा सवारी चालकहरुले मनोमानी ढंगले भाडा असुली भइरहेको कारणले आमनागरिक प्रत्यक्ष समस्यामा परेको बताउनु भयो ।
यता, प्रशासनले तोकेको भन्दा बढी भाडा असुले पनि जिल्ला प्रशासन कार्यालय भने त्यसप्रति बेखबर रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने भाडादर बढी लिएको आधिकारीक गुनासो नआएको दावी गर्नुभयो ।
उहाँले प्रशासनले तोकेकै दररेटमा भाडा असुल गर्न व्यवसायीहरुलाई अनुरोध गर्नु भएको छ । यातायात व्यवसायीले मनोमानी ढंगले भाडा असुलेको गुनासो नआएको उहाँले बताउनु भयो । कुनै यतायात व्यवसायीले मनेमानी ढंगले भाडा असुलेको गुनासो आए कारवाही गर्ने सार्कीले प्रतिवद्धता गर्नुभयो ।
व्यवासायीहरुले ग्रामिण सडकहरु राम्रा नभएको जोखिम मोलेर सवारीका साधनहरु सञ्चालन गर्नु पर्ने इन्धनको मूल्य वृद्धिलगायतका कारण देखाउँदै तोकेको भन्दा बढी भाडाअसुल्ने गरेका छन् । जिल्लाका सबै सरोकारवालाहरुको छलफलबाट सबैलाई पायक पर्ने भाडा दर निर्धारण गरी भाडा दर कार्यान्वयन गर्न जरुरी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्