८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘बेलहिया’को नाम कसले लेख्यो ‘सुनौली’ ?, स्थानीयले थाले यस्तो अभियान (भिडियो)


0
Shares

दीपक घिमिरे/ईमेज:

भैरहवा । रुपन्देहीको बेलहियामा स्थानीयवासी बेलहियाको पहिचान स्थापित गर्ने अभियानमा जुटेका छन् ।

सार्वजनिक यातायातमा बेलहियाका ठाउँमा सुनौली लेखिएको भन्दै त्यसलाई तुरुन्त सच्चाउनुपर्ने उनीहरुको माग छ ।

बेलहियाबाट चल्ने सार्वजनिक यातायातका साधनमा समेत सुनौली लेखिएको भन्दै यतिबेला बेलहियावासी असन्तुष्ट छन् ।

स्थानीय सार्वजनिक यातायातमा नाम नलेखिँदा आफ्नो ठाउँ ओझेलमा परेको भन्दै उनीहरु एकताबद्ध भएका हुन् ।

बेलहिया ओझेलमा परेको भन्दै सुनौली लेखिएको स्टीकर हटाएर बेलहिया टाँस्न थालिएको छ ।

बेलहियाबाट चल्ने सवारी साधनमा बेलहिया लेख्न सरोकारवाला निकायलाई लिखित रुपमै आग्रह गरेपनि सुनुवाई नभएपछि सडकमा आएर स्टिकर टाँस्नुपरेको गृहलक्ष्मी समूहकी अध्यक्ष देवी न्यौपानेको भनाइ छ ।

स्थानीयको सक्रिय सहभागितमा संचालित अभियानमा स्थानीय जनप्रतिनिधि र अन्य संघ संस्थाको पनि साथ देखिएको छ ।

बेलहियाको पहिचान स्थापित गर्नका लागि सार्वजनिक यातायातमा सुनौली लेखिएको ठाउँमा बेलहिया लेखिएको बताउँदै स्थानीय खुकुरी क्लब बेलहियाका अध्यक्ष सुमन शर्माले सवारी साधनमा लेखिएको बेलहिया हटाइए स्थानीय प्रतिकारमा उत्रिने समेत चेतावनी दिए ।

बेलहियाको पहिचान जोगाउने काममा वडा कार्यालयले पुर्ण सहयोग गर्ने वडाध्यक्ष रमेश मल्लले बताए । 

सुनौली शब्दलाई हटाएर त्यसको ठाँउमा बेलहिया लेख्न अध्यक्ष मल्लले सबैलाई आग्रह समेत गरे ।

हरेक ठाउँ र स्थानको आआफ्नै महत्व छ सकेसम्म आफ्नो ठाउँको पहिचान जोगाउनतर्फ सबै लाग्नुपर्छ । उसो त केही सवारी साधनहरुमा भने बेलहिया नै लेखिएको छ ।

पहिचानसँग सम्बन्धित स्थानीयवासीको माग स्वाभाविक रहेकोले त्यसलाई पुरा गर्न सरोकारवाला पक्षले विचार पुर्‍याउन जरुरी छ ।