
नविन सिंह
जकपुरधाम । प्रदेश २ सरकारले पारित गरेको ३३ अर्ब ५६ करोड ९ लाखको बजेट अन्तर्गन माघ महिनासम्म साढे ९ प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु खर्चतर्फ ११ दशमलव ८ प्रतिशत र पुँजीगततर्फ ८ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको छ ।
कोरोना महामारीका कारण गत आर्थिक वर्षको भन्दा ५ अर्ब १६ करोडले कमको बजेट ल्याएको प्रदेश सरकारको बजेट खर्च गर्ने क्षमता भने कमजोर देखिएको छ । कारोनालाई नै कारण देखाउँदै सुस्त गतिमा काम तथा कार्यक्रमहरू गर्दा बजेट खर्च कम भएको हो । दोश्रो चौमासिकसम्म ३५–४० प्रतिशतसम्म बजेट खर्च भइसक्नु पर्ने प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोज झाको भनाइ छ ।
सबैभन्दा बढी प्रदेश सभाले २४ दशमलव ५१ प्रतिशत र सबैभन्दा कम आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४ दशमलव २४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४ दशमलव ८५ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ दशमलव १ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९ दशमलव ९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५ दशमलव २५, भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ दशमलव ११ र सामाजिक विकास मन्त्रालयले १३ दशमलव ९–९ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पनि परम्परागत नीति ढिलो गरी अख्तियारी र कोभिड प्रभावको कारणले गर्दा चालु आर्थिक वर्षमा बजेट खर्च न्यून देखिएको बताउनुहुन्छ ।
पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारमा कुल बजेटको मात्र ४६ दशमलव ९५ प्रतिशत बजेट खर्च गर्न सकेको थियो । रकम हुँदाहुँदै अन्तिम चौमासिकमा खर्च गर्ने परिपाटीले रकम फ्रिज हुनुका साथै विकास निर्माणका काम पनि प्रभावित हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्