
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैँले क्रियाशिलता देखाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता तथा कुटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो ।
सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडी बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा विनाअवरोध सञ्चालन भए पनि बैठक र विभिन्न समितिहरूले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभाको सातौँ अधिवेशन सम्म आइपुग्दा २ सय २२ वटा बैठकहरू भएको र यस अवधिमा ४१ वटा विधेयकहरू दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेका छन् । यस्तै २४ वटा मध्ये ८ वटा सभामा र १० वटा समितिमा विचाराधीन रहँदा ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेका छन् ।
तीन वर्षको अवधिमा राष्ट्रिय सभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र एउटा संकल्प प्रस्तावहरूमा छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्र्तगतको पार्लिमो प्रोटोकल सभाबाट अनुमोदन समेत गरिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्