
बारा । प्रदेश २ को राजमार्गमा दैनिक सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या बढेको छ ।
५० वर्षअघि निर्माण भएको प्रदेश २ मा रहेका महेन्द्र राजमार्ग र भारत सरकारको सहयोगमा निर्माण गरिएको त्रिभुवन राजपथमा सामान्य बिस्तारसमेत नगरेपछि दुर्घटना बढेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको कार्यालयको तथ्यांक अनुसार प्रदेश २ मा गत वर्ष १३ सय ४० सवारी दुर्घटना भएको छ भने चालु आर्थिक वर्षको ६ महिनामै दोब्बर २४ सय ३५ सवारी दुर्घटनामा परेका छन् ।
त्यसैगरी गत वर्ष ४ सय २० जनाको मृत्यु भएको थियो भने चालु वर्षमा ३ सय ३ जनाको मृत्यु भइसकेको छ भने करीब ४ हजार गम्भीर र सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरीका प्रदेश प्रमुख हिमालय श्रेष्ठले सडक पुर्वाधार, चालकको लापरवाही र राजमार्गमा चल्ने सवारी साधनको नियमित चेक जाँच नहुनाले प्रदेशमा बढदो सवारी दुर्घटना हुने गरेको बताउनुभयो ।
चालकले मादक पदार्थ, लागु औषध सेवन गरी सवारी चलाउने र ट्रिप भत्ता बढी पाउने लोभमा अत्याधिक भार बोकी तीब्र गतिमा सवारी साधन चलाउँदा चालकले नियन्त्रणमा लिन नसक्दा सडक दुर्घटना र मृत्यु बढेको ट्राफिक प्रहरीको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्