
एजेन्सी । भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले दुई फिल्म निर्माण कम्पनी, दुई ट्यालेन्ट हन्ट कम्पनी र एक अभिनेत्रीको घर तथा कार्यालयमा छापा मारेको त्यहाँको केन्द्रीय प्रत्यक्ष कर बोर्डले जनाएको छ ।
बोर्डले कसैको पनि नाम उल्लेख नगरी बुधबारदेखि भएको अनुसन्धानको विवरण सार्वजनिक गरेको हो । बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपसँग जोडिएको कम्पनीहरूमा पनि आयकर विभागले बुधबारदेखि छापा मारेको थियो ।
त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले तापसी पन्नुको घरबाट ५ करोड रुपैयाँको नगद भुक्तानी गरेको रसिद भेटिएको उल्लेख गरेको छ । फ्यान्टम फिल्म्स्विरुद्ध कर छलीको अनुसन्धान गरिरहेको आयकर विभागले सोही मुद्दाको सिलसिलामा अनुराग कश्यपसम्बन्धित कार्यालय र तापसी पन्नुको घर तथा कार्यालयमा छापा मारेको समाचारमा उल्लेख गरिएको छ ।
टाइम्स अफ इन्डियाको खबर अनुसार आयकर विभागका अधिकारीहरूले अनुराग र तापसीलाई होटलमा राखेर सोधपुछ गरेको थियो । विभागले तापसीले पाएका दर्जनभन्दा बढी प्रोजेक्ट र त्यसबापत धनराशीको विषयको चाँच गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्