३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


विभाजनको असर सुखानी शहीद स्मृतिमा: उदेश्य, कार्यक्रम र स्थान एउटै, समय मात्र अलग


0
Shares

सुरेन्द्र भण्डारी
झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर शहीद दिवसमा पनि परेको छ ।

५० वर्ष अघि आजकै दिन रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिनको स्मृतिमा झापामा ‘सुखानी शहीद स्मृति दिवस’ मनाइन्छ ।

इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा हत्या गरेको दिनमा हरेक वर्ष नेकपाले झापामा शहीदहरूकाे स्मरण गर्ने इतिहास भए पनि यो वर्ष भने एक भएर दिवस मनाउन सकेन ।

पार्टी भित्रको आन्तरिक कलहका कारण नेकपा ओली र दाहाल–नेपाल समूहमा विभाजन भएपछि ‘झापा विद्रोह’का योद्धाको स्मृतिमा मनाउँदै आएको दिवस फरक–फरक कार्यक्रम गरी मनाइएको हो । सुखानीमा शहीदको प्रतिमामा माल्यार्पण गर्दै आएका कम्युनिष्ट आन्दोलनका अगुवा नेता तथा कार्यकर्ताले छुट्टा–छुट्टै समूहमा विभाजन भएर माल्यार्पण गरे ।

नेकपाको ओली समूहले बिहान आठ बजेदेखि प्रतिमामा माल्यार्पण गर्दा दाहाल–नेपाल समूहले ११ बजेबाट कार्यक्रम गर्यो । ओली नेतृत्वको नेकपाले आयोजना गरेको कार्यक्रममा आन्दोलनका योद्धा मनकुमार गौतमले घटनाकाे स्मरण गर्नुभयाे ।

‘झापा विद्रोह’, ‘झापा वर्ग सङ्घर्ष’ र ‘झापा आन्दोलन’को नामबाट चिनिने आन्दाेलन भएकाे ४८ वर्ष पूरा भएको छ । यस अवधिमा झापा विद्रोहको गर्भबाट जन्मिएको तत्कालीन नेकपा(एमाले)बाट केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल गरी तीनजना प्रधानमन्त्री बनिसकेका छन् भने विद्यादेवी भण्डारी पनि प्रथम महिला राष्ट्रपति बनिसक्नुभएकाे छ ।

तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै वि.सं. २०२८ मा युवा कम्युनिष्टहरूले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई ‘झापा विद्रोह’का रूपमा स्मरण गर्ने गरिएकाे झापाकाे नेकपा नेताहरू बताउँछन् । कार्यक्रममा सहभागी स्थानीयले नेकपा एक ढिक्का भएर अघि बढ्न सुझाव दिएका छन् ।