५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपालमा भाग्य अजमाइरहेका चिनियाँ र भारतीय नागरिक (भिडियो)


416
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । देशभित्र अवसर नदेखेर नेपालबाट दिनहुँ सयौं युवा कामको खोजीमा विदेश जाने गर्छन् । तर, केही विदेशी नागरिकहरु भने नेपालमा आएर भाग्य अजमाइरहेका छन् ।

विगत ७ वर्ष देखि नेपालमा रहेका ६३ वर्षिया चिनियाँ नागरिक ली सुन्त अहिले ललितपुरको गोदावरीमा तोफु उत्पादनको तयारीमा लाग्नुभएको छ । गोदावरी नगरपालिकामा उहाँले ६ स्वादमा १२ प्रकारका तोफु उत्पादन गर्ने कारखाना खोलिसक्नुभयो ।

महिला भएर उमेरले ६ दशक कटे पनि उहाँको जोस जाँगरमा कुनै कमी छैन । नेपालमा अवसरै अवसर भएको र नेपालको विकासमा सहयोग गर्ने लीको चाहना छ । नेपालमा उत्पादित तोफुलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने तयारीमा रहनुभएका उहाँ विदेशिएका नेपालीको लागि नेपालमै रोजगारी सिर्जना गर्न सकिने बताउनुहुन्छ ।

सिए(चार्टड एकाउन्टेन्ट)को अध्ययन सकेकी भारतीय युवती अभिलाषा शर्मालाई ठूला–ठूला कम्पनीबाट जागिरको अफर नआएको कहाँ हो र ? तर उहाँको मन नेपालमा व्यवसाय गर्नु थियो । त्यहि हुटहुटीले अलिाषालाई नेपालसम्म डोहोर्यायो ।

अहिले अभिलाषाले नेपालमा कुकुरलाई तालिम दिने व्यवसाय सञ्चालन गरिरहनुभएको छ । पर्यटकको रूपमा पाँच वर्ष अघि नेपाल आएकी उहाँ अहिले काठमाडौंका घर–घरमा पुगेर कुकुरलाई तालिम दिनुहुन्छ । नेपालमा अथाह अवसरहरूको भण्डार भएकाले त्यसलाई सदुपयोग गर्नुपर्ने अभिलाषा बताउनुहुन्छ ।

विदेशीहरू नेपाललाई कर्मक्षेत्र बनाउन सक्छन् भने नेपालीहरू दिनहुँ झोला बोकेर विदेशीइरहेका छन् । सम्भावनाहरूको पहिचान गरी राजनीतिक नेतृत्व र नीति निर्माताले गम्भीर भएर सोच्ने हो भने नेपाली युवालाई पनि देशमै रोक्न सकिन्थ्यो कि ?