
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पनि कुहिएर बिग्रिसकेको बताउँदै कुहिएको अण्डाको संज्ञा दिनुभयो ।
कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भए पनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने उहाँको भनाइ छ । उहाँले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताउनुभयो ।
प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षडयन्त्र विरुद्ध जनयुद्ध सुरु भएको स्मरण गर्र्दै उहाँले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताउनुभयो । नेत्रविक्रम चन्द आफ्नै बाटोमा आएकोमा खुसी व्यक्त गर्दै उहाँले पार्टीमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभयो ।
अर्का अध्यक्ष माधव कुमार नेपालले आफूहरूले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गर्नुभयो । सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उहाँको भनाई छ ।
कार्यक्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्