
सञ्जिव कार्की
शान्तिपूर्ण राजनीतिको मुल प्रवाह नै ठिक ठानेर राजनितिको कथित मूल धारमा आउनु भएकोमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । तपाईंको क्रान्तिकारीपन भुत्ते भएको हो या समय, इतिहासकै निर्मम समीक्षा गरेर राजनीतिको मुल धार कथित यस कारण भनेकी जनताको पक्षमा राजनीति कसले गरेको हो आज सम्म थाहा हुन सकेको छैन । सबैभन्दा धेरै मान्छे राजनीतिमा समाहित भएको मान्ने हो भने पनि चुनावमा मतदान उल्लेख्य होइन यद्यपि सबैले राजनीतिको मुलधार भनेकोले कथित शब्द मार्फत मैले तपाईंको पुनरागमनलाई अरुले भने झैँ मेन स्ट्रिमको राजनीति नै भने ! युद्ध छोडेर शान्तिको मार्गमा आउनु पक्कै पनि सुन्दर कुरा हो । उसै पनि हामी शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भुमिमा संयोगले जन्मन पाएका मान्छे । शान्ति र मैत्री हाम्रो आदर्श बन्नुपर्छ । आम नेपाली जनताले तपाईंको कदमलाई स्वागत गरेर ओली सरकारलाई धन्यवाद भनेका छन् । विखण्डनको राजनीति मार्फत तराई मधेस उद्देलित गराउने डाक्टर सि के राउत र युद्धको उदघोष गरेर वनवासी बन्न पुगेका तपाईंलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउनु प्रधानमन्त्री ओलीको आज सम्मकै ठूलो राजनीतिक सफलता र प्रयास हो ।
जसले जसो भने राजनीति बिमतिका स्वर प्रकट गरे पनि अन्तर्य र गुप्त रहस्य जे भए पनि तपाईं र राउतलाई खुला र अहिले अपनाएको प्रतिस्पर्धात्मक राजनीतिमा सामेल गराएको कदमको ओलीसँगका अनगिन्ती असहमतिका बाबजुद प्रसंशा नगरिरहन सकिन्न । परन्तु राजनीति आज सम्मको मात्रै नभएको र भोलि पनि गर्नु पर्ने हुनाले विगत र आगतका थुप्रै सवालको जबाफ राजनीतिले खोज्छ । राजनीतिज्ञले तमाम सबालको जबाफ सहि तरिका र तर्कले दिन सकिएन भने राजनीति मिथ्या भ्रम भुलभुलैया र कोरा स्वार्थको किन बेच र लेनदेन मात्रै हुन्छ । जनताको पक्षमा हुन्न्न देशको अग्रगामी पाइलाको लागि ठहर गर्दैन ।
कमरेड विप्लव, तपाईं गलतबाटो महसुस गरेर फर्कनु भएको हो कि अरु नै स्वार्थ सिद्ध गर्न जानू भएको थियो ? पहिलोपटक जनयुद्ध गर्न जाँदा प्रचण्डको नेतृत्व गणतन्त्रको जग बसाल्न सक्षम भएको थियो । प्रचण्ड तपाईं लगायतको आगमनले देशले करिब तीन हजार वर्षदेखि अभ्यास गरेको सामन्तवादको अन्त्य गरेर गणतन्त्र भित्र्याउन सकिएको थियो । जनताको आधारभूत समस्या हल नभए पनि राजतन्त्र नामक पुरानो संस्था धारासयी भएर ढलेको थियो । अवस्था उस्तै रहे पनि व्यवस्था नयाँ बनेको थियो । एक राजा फ्याँकेर हजारौ राजा खडा गरेको थियो, तथापि भन्ने बाटो थियो २४० वर्षको शाहतन्त्र ढालियो । जन्मसिद्ध श्रेष्ठता होइन कर्म सिद्ध श्रेष्ठताले देसको शासन गर्ने परिपाटी कायम गरियो । तर तपाईं तीन वर्ष वन बसेर के ल्याउनु भयो ? के लिन जानू भएको थियो ?
पहिलो जनयुद्धमा १७ हजार मान्छेको रगतसँग राजतन्त्र साटिएको थियो । तर अहिले तपाईं एउटा सानो समुहको अवतरणमा किन मान्छेहरुको रगत बगाउनु पर्यो ? तपाईको क्रान्तिले किन शिक्षक मारिए ? के सामन्तवादको अवशेषको रुपमा ती शिक्षक मोरङका राजेन्द्र श्रेष्ठ मात्रै जिवित थिए र तिनको बिभत्स हत्या गर्न लगाउनु भयो ? जीवन धान्न धौ-धौ भएका कार्यकर्तालाई क्रान्तिको आकर्षण देखाएर बम बनाउन सिकाउनु भयो । कच्चा बैधको मात्रा यमपुरीको यात्रा भने झैं बम बनाउन पारंगत बनाउन नसक्नुको परिणति अरुलाई मार्न बनाएको बम पडकेर आफ्नै कार्यकर्ता मरे अङ्गभङ्ग भए । अर्कालाई पुर्न खनेको खाल्डो आफै पुरिने नियति बन्यो । एनसेलको गेटमा बम राखेर निर्धो एक गरिबको ज्यान त लिनु भयो तर एनसेलले तपाईंको कार्बाही पछि राज्यलाई कर तिर्यो कि छल्यो ? बरु भन्नुस एनसेलसँग तपाईंको पार्टीले कति रकम स्वेच्छिक चन्दा र दान भनेर असुलुउपर गर्यो ? आम मान्छेको अनेकौं जिज्ञासा छन् ।
चन्दा आतंक सिर्जना गरेर कति धेरै मान्छेमा भयको सामराज्य खडा गर्नु भयो त्यो केका लागि थियो ? सरकार र विप्लव समूह दुवै कमजोर भएको बेला सरकारसँग के बार्गेनिङ गर्नु भयो होला खै ? शक्तिहीनहरुको गठजोड केवल आ -आफ्नो प्रचार र सुरक्षाको सबालमा मात्रै टुंगोमा पुगेको होला सायद ? एउटा कुरा पक्का छ तपाईं शान्तिपूर्ण राजनीतिमा आउँदा शान्तिको वातावरण भने मजबुत बन्यो त्यसको लागि पुन आम मान्छेको तर्फबाट शान्तिप्रिय नेपालीको तर्फबाट हार्दिक धन्यवाद भन्छु ।
विप्लव कमरेड, नयाँ जनवादी क्रान्ति जति सजिलो सोचिन्छ त्यति सहज छैन भन्ने कुरा मलाई भन्दा तपाईंलाई बढी जानकारी छ । प्रचण्ड नेतृत्वमा रहँदा त्यत्रो शक्ति, त्यत्रो जनसेना हुँदा असम्भव भएको कुरा किन तपाईंले कुनै परिपक्व वातावरण बिना नै थोरै समयको बन्दुक बिसाइ पछि लगत्तै त्यही प्रकारको हिंसा र हत्या बम ब्लास्ट मार्फत प्राप्त हुने मुर्खता गर्नु भयो ? तपाईंको वनवासको क्षतिपूर्ति त ढिलोचाँडो तपाईंले ब्याजसहित पाउनुहुने नै छ तर क्रान्तिकारी आवरणको पिछ्लग्गू भएर जनावाद लिन हिंडेका अरु हजारौं कार्यकर्ताको अवस्था के हुने ? अनाहकमा चन्दा दिन अस्वीकार गरेको कारण मारिएका राजेन्द्र श्रेष्ठका टुहुरा लालाबालाको जिन्दगी र भविष्य के हुने ? यसको कुनै तर्कयुक्त र उचित जबाफ छ तपाईंसँग ? भए सार्वजनिक गर्नुस् । अन्यथा व्यक्ति हत्या र आतंकको राजनीति गरेर पश्चाताप गरेको कुनै सार्वजनिक स्विकारोक्ती बिना दोश्रो पटकको जनयुद्ध गर्ने निर्णय अर्को गम्भीर भूल गर्नु भएको कुरा इतिहासमा लेखिन्छ ।
जनताको नाममा राजनीति र सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति गर्नेको इतिहास कालो अक्षरमा नकारात्मक चर्चा हुँदा खुशी लाग्छ र ? युद्धको विसर्जन ओली नेकपामा प्रवेश गर्नको लागि हो कि ज्यान जोगाउ अभियान ? तपाईंसँग केही हातहतियार रहेको कुरा पनि विभिन्न समयमा पुष्टि र प्रमाणित भएको थियो तर तीन बुँदे सम्झौतामा हतियारको प्रसङ्ग कतै नपर्नुको कारण शंका उत्पन्न भएको छ । राज्य र तपाईंको मिलेमतोमा हतियार कतै उदृत नहुनुको कारण सरकार र तपाईंले शिघ्र जबाफ दिनुपर्नेछ । राज्य हातियारधारी लाइसेन्स प्राप्त हत्यारा हो उसले हतियार राख्न पाउँछ तर विद्रोहीको हतियार राज्यको नियन्त्रणमा आउनु पर्छ होइन र ? ओली नेकपामा मिल्ने शर्तमा हतियार बारे कतै उल्लेख नगरिएको त होइन ? तपाईं ओलीको पार्टीमा प्रवेश गर्न स्वतन्त्र हुनुहुन्छ तर हतियार राख्ने र लिने छूट तपाईंलाई किमार्थ हुनुहुन्न राज्यको कानुले यसलाई अबैधानिक भन्छ ।
क्रान्ति केवल सपना र भ्रम होइन यो ठूलो त्याग र बलिदान पश्चात् सम्पन्न हुने अत्यन्तै जोखिम राजनीतिक घटना र परिघटना हो तर हामीकहाँ क्रान्ति पेशा र कमाउ धन्दाको लागि प्रयोग भयो । चन्दा असुल गर्ने , धम्काउने र सम्बन्धित पार्टीका नेताकार्यकर्ताको आय आर्जनको मेलो ? के विगतमा प्रचण्ड नेतृत्वको क्रान्ति र अहिले तपाईंहरुले गर्नु भएको क्रान्ति रुस, चीन ,भियतनाम, कोरिया लगायतमा भए झै थियो ? के क्रान्तिकारी नेताहरूको जीवन शैली मार्क्स एङेल्स, लेनिन माओ र होचिमिन्ह जस्तो थियो ? क्रान्ति नायकको नायकत्व त सर्वप्रिय र अनुकरणीय हुनुपर्ने होइन र ? किन आर्थिक मामलामा बद्नाम छन क्रान्तिकारी नेताकार्यकर्ता ? किन श्रमजिवी जनताको जस्तो छैन नेताकार्यकर्ताको जीवन यापनको तरिका ? किन हु बहु पुँजीवादी र सामन्तवादीहरुको भन्दा विलासी र ऎस आरामको छ कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताको शैली ? आवरण र आचरणको एकरूपता किन छैन कम्युनिस्ट नेताहरुमा ? लाल कफन बाँधेर हिंड्नेहरु कसरी लाल, दलाल, हलाल र काल हुँदै निस्के यसको तार्किक जबाफ जनताको अपेक्षा हो ।
प्रतिक्रिया दिनुहोस्