१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उत्पीडित र उपेक्षित समुदायमाथि सरकारबाट आक्रमण भयोः दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउनु भएको छ ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै दाहालले पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलित लगायतसमुदायका प्रतिनिधिमाथि भएको प्रहारले प्राप्त उपलब्धि गुम्ने खतरा भएका बताउनु भएको हो ।

आज विश्वभरका महिला दिदीबहिनीहरूको मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको दाहालको भनाइ छ ।

आजको दिन महिलाहरूको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन भएको दाहालले बताउनु भयो ।

जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको दाहालको ठहर छ ।

‘महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं’, दाहालले भन्नुभयो ।