
एजेन्सी । बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मार्कलले राजपरिवारमाथि गम्भीर आरोप लगाउनुभएको छ ।
अमेरिकी टेलिभिजन नेटवर्क सिबिएससँगको अन्तर्वार्तामा मेगनले राजपरिवारका सदस्यले आफ्नो सन्तान (आर्ची) नजन्मिदै छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाउनुभएको छ । रङकै आर्चीबाट राजकीय पदवी खोस्ने गरी नियम परिवर्तन गरिएको मेगनको आरोप छ ।
ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा बोल्नु भएको हो । अन्तर्वार्तामा मेगनले राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताउनुभएको छ ।
आफूले सहयोग माग्दा पनि, राजपरिवारले सहयोग नगरेको मेगनको दुखेसो छ । उहाँले राजपरिवारको एक सदस्यले आफ्नो छोराको छाला कति अश्वेत होला भनी सोध्नुलाई नमिठो अनुभव भएको बताउनुभयो ।
राजकुमार ह्यारीले आफूले राजकीय जिम्मेवारीबाट पछि हट्ने बताएपछि बुवा राजकुमार चार्ल्सले फोन नै उठाउन छोडेको बताउनुभयो । मेगनले सन् २०१८ मा आफूहरूको विवाहपछि राजदरबारसँग अवस्था बिग्रिन सुरु भएको बताउनुभयो ।
अन्तर्वाताका क्रममा ह्यारीले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र उनीहरू नियमित कुराकानी गर्ने बताउनुभयो ।
तर, बुवा राजकुमार चार्ल्ससँगको सम्बन्ध भने बिग्रिँदै गएको ह्यारीको भनाइ छ । राजकुमार विलियमको सम्बन्धमा ह्यारीले आफूहरू फरक बाटोमा हिँडेको भन्दै राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छोडेको पनि बताउनुभयो ।
सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन क्यालिफोर्नियामा बस्दै आउनुभएको छ । गत महिनामात्रै उहाँहरू राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्