१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्वोच्चको फैसलापछि माधव नेपाल पक्ष एमालेमै फर्कने


0
Shares

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पार्टीका नेताहरू पूर्ववत् पार्टीमा फर्किन बाध्य हुने भएका छन् । नेकपा विभाजनपछि फरक पार्टीको अभ्यासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू सर्वोच्चको फैसलासँगै एमालेमा फर्कने निष्कर्षमा पुगेका छन् ।

अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अवैध ठहर गर्दै नेकपा नाम नदिएपछि माधव नेपाल समूह सबैभन्दा बढी संकटमा परेको छ । माधव नेपाल पक्षधर नेताहरूको सोमबार नयाँ बानेश्वरमा भएको भेलाले एमाले पार्टीमै बसेर अध्यक्ष केपी ओली विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको बताइएकाे छ ।

छलफलमा १३ जना स्थायी समिति सदस्य सहभागी भएका थिए । अदालतको आदेशको सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्ना असहमतिलाई निरन्तर अघि बढाउने निष्कर्षमा पनि नेपाल पक्ष पुगेको बताइएको छ । अब पुष्पकमल दाहाल पक्षसागको सहकार्य पनि हालका लागि विधिवत् रूपमै टुङ्गिएको निष्कर्ष उनीहरूको छ ।