२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


एसिड छ्याप्नेलाई कारबाही गर्न सरकारले कडा कानुन ल्यायो: मन्त्री अर्याल


0
Shares

काठमाडौं । कृृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुन निर्माण गरेको बताउनुभएको छ ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

विश्वका महिलाहरु धेरै अगाडी बढिरहँदा अहिलेपनि नेपालका महिलाहरु विशेषगरी किशोरीहरु असुरक्षित रहेको भन्दै उहाँले विभिन्न निहुँमा किशोरीमाथी एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरुप बनाइदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुनको व्यवस्था गरेको बताउनुभयो ।

‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाहरुको जीवन बर्बाद पार्ने । जीवनभर कुरुप बनाइदिने घटनाहरु बढ्दै गए । हामीसँग एसीडसम्बन्धी कानुन रहेनछ, मन्त्री अर्यालले भन्नुभयो, ‘त्यसकारण सरकारले क्षतिअनुसारको कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारबाही गर्न कडा कानुनको व्यवस्था गरेको छ । सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानुन निर्माण भएको छ।’

३ वर्षको बालिका देखी ७० वर्षका बृद्धसम्म बलात्कारको सिकार हुनेगरेको भन्दै उहाँले त्यस्ता बलात्कारीलाई कारबाही गर्नका निम्ती सरकारले कानुन निर्माण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बालिकाहरु देखी ७० वर्षसम्मका हाम्रा आमाहरु असुरक्षित छन् । यस्ता कुराहरु सुन्न सकिने कुरा हो । त्यसैले सरकारले ती पिपाशुहरुलाई कारबाही गर्न जन्मकैदको व्यवस्थासहितको कानुन निर्माण गरेका छौ ।’