२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


वीरको विस्तार व्यवधानः ६ वर्षमा बन्नुपर्ने भवनको ४ वर्षसम्म डीपीआर नै बनेन


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । वैदेशिक सहायता नपाउँदा दुवाकोटमा विस्तार गर्ने भनिएको वीर अस्पतालको गुरुयोजना ४ वर्षदेखि अलपत्र परेको छ ।

भक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवनसहितको सेवा विस्तार गर्न सरकारले चार वर्षदेखि केही रकमसमेत विनियोजन गर्दै आएको छ । ६ वर्षभित्र निर्माण सक्ने गुरुयोजना सरकारले तयार पारेको थियो । तर, ४ वर्षसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन ।

अस्पताल बनाउन हालसम्म चीन सरकारले मात्र रुचि देखाएको छ । चीनले निर्माण स्थलको अवलोकन गरे पनि बनाइदिने निर्णय नभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. देव नारायण साहले बताउनुभयो ।

दुवाकोटमा विस्तार गर्ने भनिएको अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउन ३६ अर्ब लाग्ने अनुमान छ । जसमा शैक्षिक कार्यक्रमसहित १ हजार शय्याको अस्पताल हुनेछ । वीर अस्पतालमा नभएका विशिष्टिकृत सेवा दुवाकोटबाट दिने लक्ष्य राखिएको छ ।

वीर अस्पतालले दुवाकोटमा विस्तार गर्न लागेकाे भवन बन्ने जग्गा

तर, अहिले दुवाकोटमा रहेको वीर अस्पतालको जग्गा भएको ठाउँमा एक जना चिकित्सकले सामान्य ओपीडी सेवा दिइरहेका छन् । निर्माण स्थलको प्रत्येक स्वास्थ्यमन्त्री अवलोकन गरे पनि पहल गर्न सकेका छैनन् ।

विदेशीको मुख ताकेर तामझामका साथ गुरुयोजना बन्यो तर अस्पताल बनाइदिन कोही तयार नहुँदा सरकार आफैँले आँट्न सकेको छैन । केही समयअघि अर्थमन्त्री विष्णु पौडेलले निर्माण स्थलमा पुगेर बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए पनि सरकार पुनः चिनियाँ टोलीको प्रतिक्षामा छ ।

नेपालको सबैभन्दा पुरानो वीर अस्पताल विस्तार गरी सुविधासम्पन्न बनाउने गुरुयोजना चार वर्षसम्म पनि कार्यान्वयन नहुनु बिडम्बना हो । अस्पताल विस्तारको जिम्मेवारी सरकार आफैँले लिन नसक्दा अहिलेको परिस्थिति उत्पन्न भएको छ ।