
एजेन्सी । बेलायतका पूर्व राजकुमार ह्यारी तथा उहाँकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका विषयप्रति ध्यानाकर्षण भएको बकिङ्गम राजदरबारले बताएको छ ।
महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको वक्तव्यमा ओफ्रा विन्फ्रीसँगको अन्तरर्वार्ताका क्रममा जातिय प्रकृतिका प्रसंग निकै ‘चिन्ताजनक’ भएको भन्दै यो विषयलाई गम्भीरतापूर्वक लिइएको जनाइएको छ ।
दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसंगबारे भिन्नभिन्न सम्झना रहेको भए पनि ती विषयलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ ।
मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन् ।
ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन् ।
दरबारले मेगन र ह्यारी सधैं ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ ।
पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ ।
शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसंग पारिवारिक मामिला भएको र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ ।
राजदरबारको यो पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको संकटबारे शाही परिवारका वरिष्ठ सदस्यहरूको बैठकपछि आएको हो ।
प्रतिक्रिया दिनुहोस्