
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले भारतसहित जापान र अस्ट्रलियाका नेताहरुसँग अनलाइन बैठक गर्नुहुने भएको छ ।
चार देशका नेताहरुको पहिलो पटक यसरी छुट्टै वार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलबार ह्वाइट हाउसले बैठक हुनेबारे जानकारी दिएको हो । बैठमा चीनको सैन्य सक्रियता र आर्थिक शक्तिलाई सन्तुलित गर्ने कोसिस हुनसक्ने जनाइएको छ ।
ह्वाइट हाउसका प्रवक्ता जेन साकीले चार देशको बैठकमा बाइडनले अमेरिकी सहयोग र इन्डो प्यासेफिक(क्वीड) क्षेत्रको साझेदारीलाई महत्व दिने बताउनुभएको छ । बैठकमा विश्वव्यापी महामारी कोभिड–१९ देखि आर्थिक सहयोग र जलवायु परिवर्तनको विषयमा छलफल हुने बताइएको छ ।
बैठकले अमेरिकाको इन्डो प्यासेफिक क्षेत्रमा नियमित कुटनीतिको एक नयाँ फिचरको रुपमा बुझ्न सकिने एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । भारतमा कोरोनाविरुद्धको खोप निर्माण क्षमता वृद्धि गर्नको लागि आर्थिक सम्झौताको घोषणा गर्ने योजना रहेको उक्त अधिकारीले बताएका छन् ।
गत फेब्रुअरीमा क्वीड गठबन्धन मुलुकका विदेश मन्त्रीहरुको बैठकले म्यानमारमा सेनाले सत्ता हत्याएकोमा आपत्ति जनाएको थियो । बैठकमा अमेरिकी अधिकारीहरुले म्यान्मार मामिलामा जापान र भारतले नरम नीति लिएको विषयमा चासो राखेका थिए । अहिले जापान र भारतसँग म्यान्मारको मैत्रीपूर्ण सम्बन्ध रहेको छ ।
विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो । तर, क्वीडका विदेश मन्त्रीहरुले चीनका बारेमा कुनै विशेष सम्बोधन गरेका थिएनन् । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्वीड स्थापना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्