२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाहाल र ओलीको सत्ता दौड तीव्र, निर्णायक शक्ति कांग्रेस र राजपा


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । नेकपाको संयुक्त अध्यक्षबाट माओवादी केन्द्रको एकल अध्यक्ष बनेपछि पुष्पकमल दाहालको दौडधुप झन् तीव्र भएको छ । प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउने अभियानमा लाग्नुभएका दाहालले मंगलबार र बुधबार कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग भेटवार्ता गरिसक्नुभएको छ ।

अर्कोतर्फ एमालेको एकल अध्यक्षमा परिणत बनेका प्रधानमन्त्री केपी ओलीले पनि नयाँ सत्ता समीकरणका लागि दाहाल भन्दा एक कदम अघि बढेको देखिन्छ । नयाँ सत्ता समीकरणका लागि प्रतिनिधिसभामा १३८ सांसदको समर्थन जुटाउनु जरुरी छ । प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता नलिइ नयाँ समीकरणको खोजीमा लागेको माओवादी केन्द्रसँग ५२ सांसद मात्र छन् ।

माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मात्रै मनाएर पनि बहुमत जुट्दैन । ओलीलाई हटाउन जनता समाजवादी पार्टीको साथ पनि अनिवार्य हुन्छ । सोही प्रयोजनका लागि दाहालले मंगलबार अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसहितका नेताहरुसँग छलफल गर्नुभएको हो ।

दुई पार्टी नयाँ समीकरणका लागि तयार भएको संकेत पाएपछि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बुझिएको छ । माओवादीले समर्थन फिर्ता लिएको खण्डमा ओलीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

ओलीले पनि जसपा वा कांग्रेसमध्ये कुनै एक दलसँग समीकरण गर्नुपर्ने बाध्यता छ । जसपाले ओलीसँगको समीकरणका लागि सांसद रेशम चौधरीको रिहाइ, मधेश तथा थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र संविधान संशोधनको शर्त राखेको छ ।

कांग्रेसले भने कुनै शर्त अघि सारेको देखिँदैन । त्यसैले ओलीले विश्वासको मत लिन कुन पक्षसँग सम्झौता गर्नुहुन्छ यसै भन्न सकिने अवस्था छैन । लगभगमा भीरमा पुगेर एकाएक शक्ति आर्जन गर्नुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाइ राख्न अर्को जुक्ति लगाउने सम्भव पनि उत्तिकै छ ।