१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शहीद स्मारक ‘बी’ डिभिजन लिगः पुल्चोक ‘सी’ डिभिजनमा घटुवा


0
Shares

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग टिम पुल्चोक स्पोर्टस् क्लब रेलिगेशनमा परेको छ । बी डिभिजन लिगको अन्तिम स्थानमा रहेर पुल्चोक ‘सी’ डिभिजन लिगमा घटुवा भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ ले पराजित भएपछि पुल्चोक घटुवा भएको हो । नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए ।

हारसँगै पुछारमा रहँदै लिग सकाएको पुल्चोकले ११ खेलमा ५ अंकमात्रै जोडेको छ । अन्तिम खेल खेलेको नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोड्यो । प्रतियोगिताको उपाधि जितेर सातदोबाटो युथ क्लब ए डिभिजनमा बढुवा भइसकेको छ ।

१२ टोली सहभागी लिगमा खुमलटार युथ क्लबले दोस्रो स्थानमा रहेर लिग सकाएको छ । बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । खुमलटारलाई जिताउन आदील हमिद, प्रशान्त अवस्थी, आयुश घलान र महेश राईले १–१ गोल गरे ।