२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


विश्वभर प्रभाव छाड्दै पौभाः कला, एउटै चित्रको १२ करोडसम्म तिर्न तयार (भिडियो)


390
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । नेपालमा परम्परागत पौभाः चित्रकलाको ऐतिहासिक विरासत निकै पुरानो छ ।

नेपालमा करिब १० औँ शताब्दीमा बनेका चित्र प्राप्त भएका छन् । यिनै चित्रले नेपालको चित्रकलाको वैभवता प्राचीन रहेको बुझ्न सकिन्छ । वर्तमान अवस्थामा यो चित्रकला विश्वमा नेपालको पहिचान सहित फैलिरहेको छ ।

नेपाली परम्परागत पौभाः चित्रकलामा बौद्ध, शैव र शाक्त परम्परामा आधारित रहेर विकास भएको पाइन्छ । यसले धार्मिक, सांस्कृतिक र सामाजिक जीवनलाई नेपालको मौलिक नेवार कलाको रूपमा समेटेको छ ।

नेपाल मण्डलमा पौभाः कलाको व्यापकतासँगै अहिले विश्वकला जगतमा पनि प्रभाव पार्न थालेको देखिन्छ । नेपालको मौलिक कलाका रूपमा परिचित पौभाः चित्रकला आध्यात्मिक र हाम्रो मूल परम्परा भएको कलाको रूपमा विश्वमा चिनिएको छ ।

पौभाः लाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन पौभा कलाकारहरूको ठूलो भूमिका र योगदान छ । जसको पछिल्लो उदाहरण हुनुहुन्छ पौभाः कलाकार राज प्रकाशमान तुलाधार । उहाँको आर्यताराको चित्र अहिले चीनमा प्रसिद्ध भएको छ ।

आर्ट कलेक्टर मार्फत चीन पुगेको यो चित्रकला सन् २०१४ मा पहिलो पटक प्रर्दशन भएपछि अहिले चीनमा नेपाली कलाको रूपमा चर्चित भएको छ । कला पारखीहरूले यसलाई किन्नको लागि मात्र १२ करोड रूपैयाँसम्म तिर्न तयार भएका छन् । कलाकार तुलाधरका अनुसार यो चित्रकलाको अहिलेको मालिकले चीनको राष्ट्रिय संग्रहालयमा प्रदर्शनीको लागि तयारी गर्देछ ।

कलाकार समुद्रमान सिंह श्रेष्ठको यो आर्य ताराको उत्कृष्ट चित्रकला पनि चीन पुगिसकेको थियो । तर, म्युजियम अफ नेपाली आर्टका निर्देशक राजन शाक्यले यो कला किनेर नेपाल फर्काउनुभएको थियो । जुन अहिले म्युजियममा प्रदर्शनका लागि राखिएको छ ।

हाम्रो कलामा विश्वास र आस्था भएकाले अन्तराष्ट्रिय रूपमा प्रवर्द्धन गनुपर्ने निर्देशक शाक्यको भनाइ छ । ‘नेपाललाई विश्वमा चिनाएको नै नेपाली परम्परागत कलाले हो,’ शाक्य भन्नुहुन्छ, ‘त्यसैले, सबै नेपालीले हाम्रा कला प्रति गर्व गर्नुपर्छ ।’

कलाको संरक्षण र कलाकारहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा कलाकार तुलाधरको जोड छ ।
मौलिक संस्कृतिको आधारमा बनेको पौभाः कलाले नेपालको प्राचीन वैभवलाई जीवन्त बनाइराखेको छ ।

पछिल्लो समय यस कलाले नयाँ अवसर र सम्भावनाको ढोका पनि खोलिरहेको छ । आर्थिकसँगै परम्परागत कलाले रोजगारीको अवसर समेत सिर्जना गरिरहेको छ । साथै धार्मिक, सांस्कृतिक र व्यापारमा राष्ट्रकै लागि ठूलो योगदान दिइरहेको छ ।