
एजेन्सी । सरकारले जेष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ ।
निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा निःशुल्क हुने भएको छ ।
हाल मुलुकभरका २४ वटा अस्पतालबाट उपलब्ध हुँदै आएको कार्यक्रम विस्तार गर्ने उद्देश्यले नयाँ ‘जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ ल्याइएको हो ।
निर्देशिकामा उल्लेख भएअनुसार जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम लागु भएका सबै अस्पतालहरु पूर्वाधार र सेवा प्रवाहका हिसाबले जेष्ठ नागरिकमैत्री हुनेछन् ।
ती अस्पतालहरुमा ६० वर्षमाथिका नागरिकका लागि शारीरिक अशक्तता र दीर्घरोगका आधारमा सबैखाले स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिइनेछ ।
यस्तै, निःशुल्क तथा सहुलियत दरमा विशेषज्ञ सेवा प्रदान गरिनेछ । यो सेवा भएका अस्पतालहरुले ज्येष्ठ नागरिकका लागि निश्चित शैया छुट्ट्याउनुपर्ने छ ।
पार्किन्सन्स र अल्जाइमरजस्ता रोगहरुको हकमा सहुलियत दरमा उपचार गरिनेछ ।
जेरियाट्रिक स्वास्थ्य सेवा हाल मुलुकभरका २४ वटा सरकारी अस्पतालबाट सञ्चालन भइरहेको छ ।
वाग्मती प्रदेशमा सातवटा, प्रदेश नम्बर–१ र २ मा चार–चारवटा, लुम्बिनी प्रदेशमा तीनवटा, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई दुई वटा अस्पतालमा यो सेवा उपलब्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्