
काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिदैछ ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत कार्यक्रम गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सैनिक दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ठ महानुभावहरु सरिक हुुनुहुनेछ ।
नेपालको करिब ९५ हजार सैनिक जनशक्तिको नेतृत्व प्रधानसेनापति पुर्णचन्द्र थापाले गरिरहनु भएको छ ।
सैनिक योगदान
नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
नेपाली सेनाकै वीरताका कारण अंग्रेजको दबदबा रहेको अवस्थामासमेत दक्षिण एसियामा नेपालमात्र उपनिवेश हुनबाट जोगिएको थियो ।
वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो । सयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ भने अहिलेसम्म एक लाख १० हजार ७ सय ७६ जनशक्तिले योगदान दिइसकेका छन् ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका सय भन्दा बढीले वीरगति पाउनुका साथै सयौं गम्भीर घाइते भएका छन् ।
नेपाली सेनाका चार हजार दुई सय फौज विश्वभरका १५ वटा संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ अहिले पनि परिचालित छन् ।
शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटिमा नेपाल छैटौं स्थानमा छ ।
सैनिक र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागिसमेत अहिले नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशालाको केन्द्र बन्दै गएको छ ।
विश्वका कुनैपनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाकारुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।
पछिल्ला समयमा नेपाली सेनाले मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ ।
राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकासनिर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्