
राजेश जिसी
प्यूठान । झिमरुक गाउँपालिकाले जेष्ठ नागरिकका लागि कोसेली उपलब्ध गराउन थालेको छ । ज्येष्ठ नागरिकको सम्मान गर्दै ८४ वर्ष उमेर पुगेका नागरिकका लागि गाउँपालिकाले घर–घरमै पुगेर कोसेली उपलब्ध गराउँदा ज्येष्ठ नागरिकसमेत दङ्ग परेका छन् ।
प्यूठानको झिमरुक गाउँपालिकाले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकका लागि घर–घरमै पुगेर केशेली उपलब्ध गराउन थालेकोे छ । पालिकाले उपाध्यक्ष कोसेली कार्यक्रममार्फत गाउँपालिका भित्रका १ सय ५० जेष्ठ नागरिकका लागि कोसेली उपलब्ध गराउन थालेको हो । गाउँपालिकाकी उपाध्यक्ष पवित्रा जिसी घरपरिवारबाट अपहेलित हुन नपरोस् र ज्येष्ठनागरिक सम्मानका साथ जिउन सकुन् भन्ने उद्देश्यले कोसेली कार्यक्रम लागू गरेको बताउनुहुन्छ ।
गाउँपालिकाले यस आर्थिक वर्ष ३ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरीे एक जना जेष्ठ नागरिकका लागि २ हजार पाँच सय रुपैयाँ बराबरको हर्लिक्स, साबुन, चेवनप्रास, रुमाल, लगायतका सामग्री उपलब्ध गराएको छ । गाउँपालिकासम्म आउन नसक्ने जेष्ठ नागरिकको घरमै पुगेर हातमै कोसेली थमाउने गरिएको छ । कोसेली थमाउँदा ज्येष्ठ नागरिकबाट आर्शिवादसमेत पाएको जिसीको अनुभव छ ।
‘घरले जा–जा र वनले डाक्दै गरेका’ उमेरले कोल्टे फेर्दै गरेका जेष्ठ नागरिकलाइँ गाउँपालिका मार्फत सहयोग उपलब्ध गराउन थालेपछि जेष्ठ नागरिक पनि मख्ख देखिन्छन् । गाउँपालिका मार्फत नियमित स्वास्थ्य जाँचसँगै कोसेली दिन थालेपछि उनीहरू पनि दङ्ग देखिन्छन् । पालिकाले घरमै पुगेर काशेली तथा नियमित स्वास्थ्य जाँच गर्न थालेपछि गाउँ–गाउँमा सिंहदरबार आएको अनुभूति भएको ज्येष्ठ नागरिकहरूको भनाइ छ ।
पालिकाले जेष्ठ नागरिकसँग उपाध्यक्ष कार्यक्रममार्फत जोडिएका जेष्ठ नागरिकले कोसेली पाउन थालेपछि उनीहरूको दिनचर्या पनि बदलिएको छ । छिनछिनमा तलतल लाग्दासमेत कोसेली खान पाएका उनीहरूले लामो समयपछि ज्येष्ठ नागरिकलाई सरकारले यसरी सम्झेकोमा खुशी छन् ।
पालिकाले सञ्चालन गरेको यस्तो नमुना कामलाई आगमी दिनमा पनि नियमित निरन्तरता दिन सके ज्येष्ठ नागरिकप्रतिको सम्मान र प्रतिष्ठालाई बचाइराख्ने थियो ।
प्रतिक्रिया दिनुहोस्