
एजेन्सी । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि नदीग्राममा बुधबार भएको साङ्घातिक आक्रमणमा अनुसन्धान सुरु गरिएको छ । पूर्व मोदिनीपुरका जिल्ला अधिकारी र प्रहरी अधिक्षकले नदीग्रामको बिरुलिया बजारमा उनीमाथि धक्का दिँदा उनी घाइते भएकी छन् ।
घटनापछि मुख्यमन्त्री बनर्जी अस्पताल भर्ना हुनुभएको छ । उहाँको दायाँ काँध, गर्दन र गोडाको हड्डीमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कोलकात्ताको सरकारी अस्पतालमा उपचार गराइरहेकी बनर्जीलाई ४८ घण्टासम्म अस्पतालकै निगरानीमा राखिने बताइएको छ ।
मुख्यमन्त्री बनर्जी घाइते भएसँगै तृणमुल कांग्रेसले बिहीबार गर्ने भनिएको सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । पार्टीका अधिकारीले चुनाव आयोगका अधिकारसँग भेटेर घटनाको उजुरी दर्ता गरेका थिए । पार्टीका नेताहरुले भारतीय जनता पार्टीले आक्रमण गराएको आरोप लगाउँदै त्यसको जिम्मेवार चुनाव आयोग भएको बताएका छन् ।
उता भारतीय जनता पार्टीका प्रतिनिधिले भने ममता बनर्जीको आक्रमणलाई नौटङ्की भन्दै चुनाव आयोगसँग निष्पक्ष छानविनको माग गरेको छ । पश्चिम बंगालका भाजपा उपाध्यक्ष अर्जुन सिंहले जेड प्लस सुरक्षा घेरमा बाहिरको मानिस कसरी गएर आक्रमण गर्छ भन्दै प्रश्न गरेका छन् । उनले जनताको सहानभूति पाउनका लागि बनर्जीले नौटङ्की गरेको बताए ।
पश्चिम बंगालमा विधान सभाको चुनाव हुन लाग्दा मुख्यमन्त्रीमाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिइएको छ । त्यहाँ मार्च २७ देखि अप्रिल २९ सम्म आठ चरणमा चुनाव हुन लागेको छ ।
यसैबीच दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि मुख्यमन्त्री बनर्जीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्