१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अबको राजनीतिक बाटो तत्काल निर्वाचन वा ओलीकाे दुई वर्षे कार्यकाल– मन्त्री पौडेल


0
Shares

काठमाडौं । अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता विष्णु पौडेलले अबको राजनीतिक बाटो तत्काल निर्वाचन वा प्रधानमन्त्री केपी शर्मा ओलीकाे दुई वर्षे कार्यकाल हुने बताउनुभएको छ ।

बिहीबार ईमेज च्यानलको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै मन्त्री पौडेलले प्रतिनिधिसभा विघटन गरेर तत्काल निर्वाचनमा जान सकिने बताउनुभयो । त्यसो हुन नसकेको खण्डमा आगामी दुई वर्ष प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार हुने उहाँको दावी छ । जनताले आफूहरुलाई सरकारले नेतृत्व गर्ने म्यान्डेड दिएकाले तत्काल प्रधानमन्त्रीको राजीनामा नआउने उहाँकाे भनाइ छ ।

मन्त्री पौडेलले वर्तमान अवस्थामा नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता असम्भव रहेको बताउँदै गठबन्धनको सरकार बन्नेसमेत सम्भावना नरहेको ठोकुवा गर्नुभयो । उहाँले आफूहरुबीच वैचारिक असहमति रहेको र पछिल्लो राजनीतिक सन्दर्भमा माओवादीसँग एकताको कुरा सोच्नै नसकिने बताउनुभयो । माओवादीले सरकारको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले संसद्को सामना गर्ने उहाँको भनाइ छ ।

सत्ता समिकरणका लागि एमालेले जनता समाजवादी पार्टी र नेपाली कांग्रेस दुवैसँग छलफल गरिरहेकाे मन्त्री पौडेलले जानकारी दिनुभयो । अन्य जुनसुकै विकल्पमा छलफल भए पनि सरकारमा ओलीको नेतृत्वको विकल्प मान्य नहुने उहाँकाे तर्क छ । ‘दलहरुबीच अन्य जुनसुकै विकल्पमा छलफल भए पनि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारमा ओलीको नेतृत्वको विकल्प मान्य हुँदैन ।’

फरक प्रसङ्गमा अर्थमन्त्री पौडेलले पार्टीभित्र पक्ष र विपक्ष नरहेको दावी गर्दै पार्टी एक भएको जिकिर गर्नुभयो । उहाँले छिट्टै नै पार्टीको केन्द्रीय र स्थायी कमिटी बैठक बसेर विगतका गतिविधिको समीक्षा गर्दै अघि बढ्ने बताउनुभयो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि भएको दुवै बैठकमा प्रधानमन्त्री सहभागी नभएको प्रश्नमा पौडेलले बैठक विधिसम्मत ढङ्गले अघि नबढेकाले प्रधानमन्त्री बैठकमा सहमागी नभएको बताउनुभयो । सभामुखले समयमै बैठक सुरु गर्दै अन्य विधिको पनि ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फरक प्रसङ्गमा मन्त्री पौडेलले तत्कालीन माओवादी केन्द्रबाट सरकारमा सहभागी रामबहादुर थापा ‘बादल’ लगायत अन्य मन्त्रीहरुले माओवादीमा नफर्कने निर्णय नै गरिसकेको बताउनुभयो । ‘उहाँ(मन्त्री)हरु ले माओवादी केन्द्रमा नफर्किने निर्णय लिइसक्नुभयो,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको अबको यात्रा नेकपा एमालेबाट अघि बढ्छ ।’

मन्त्री पौडेलले गृहमन्त्री रामबहादुर थापालाई नेकपा एमालेको उपाध्यक्षमा मनोनित गरिएकाे खबर गलत भएको बताउँदै एकता नचाहने तत्वले हल्ला फैलाएको आरोप लगाउनुभयो । पूर्व माओवादीका नेताहरु माओवादीमा नफर्किएपछि गृहमन्त्री थापालाई ओलीले एमालेकाे उपाध्यक्षमा मनोनित गरेको चर्चा चलेकाे थियो ।

पौडेलसँग गरिएको विस्तृत कुराकानी बिहीबार राति ८ बजेको कार्यक्रम ‘हट सिट’मा प्रसारण हुनेछ ।