
काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ९ प्रतिशत निर्माण सकिएको छ । गत वर्ष कोभिड–१९ को कारण निर्माण सुस्त भए पनि चालु आर्थिक वर्ष निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ । पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १४९ मिटर खनिसकिएको आयोजनाले जनाएको छ । आपत्कालिन प्रयोगका लागि बनाइएको सुरुङ ४५ मिटर खनिएको छ ।
सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहुँच सडक निर्माण अघि बढेको छ । आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ ।
आयोजनाले सुरुङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाएको थियो । त्यसमध्ये अहिले एक महिना सकिएको छ । अबका समयमा १५ महिनामा खनिसकिने गरी काम अघि बढेको छ । निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ ।
नेपाली इञ्जिनीयर झण्डै ९० र परामर्शदाता कम्पनीका तीन जना छन् । निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत छन्। अदक्ष जनशक्तिमा भने सबै नेपाली नै छन् । अहिले झण्डै ३५० कामदार कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्