
रोमन आचार्य
काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन् । सत्ता समिकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि उनीहरू देउवापनिवास बुढानिलकण्ठ गएका हुन् ।
पछिल्लो समय सत्ता समिकरणको खेल चलिरहेको बेला जनता समाजवादी पार्टी केन्द्रमा परेको छ । जसपाले नेकपा एमालेसँग पनि वार्ता कायम राखेको छ भने नेपाली कांग्रेसलाई पनि भेट्न गएका छन् ।
छलफलका लागि जसपा नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र उपेन्द्र यादव गएका छन् । जसमध्ये यादव र भट्टराई एउटै गाडीमा बुढानिलकण्ठ प्रवेश गर्दा अन्य नेताहरू भने फरक–फरक गाडीमा बुढानिलकण्ठ गएका छन् ।
जसपामा पूर्व राजपा पक्षीय नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जानका लागि पनि तयार भएका छन् भने पूर्व समाजवादी पक्षीय नेताहरू कुनै पनि हालतमा ओलीलाई समर्थन गर्न नहुने पक्षमा छन् । भट्टराई र यादव पूर्व समाजवादी पार्टीका नेता हुन् भने ठाकुर र महतो पूर्व राजपाका नेता हुन् ।
यता नेकपा एमालेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष र महासचिव बाहेकका सम्पूर्ण पदाधिकारी पद खारेज गरेको क्रममा जसपा नेताहरूले देउवालाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीले शुक्रबार नै माधवकुमार नेपाल पक्षीय नेताहरूलाई जिम्मेवारीबाट पनि हटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्