१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी र जसपाबीचको छलफल टुङ्गोमा पुगेन


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी (जसपा) का नेताबीच नयाँ सत्ता समीकरणबारे छलफल भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबीच शनिबार छलफल भए पनि ठोस सहमति भने बन्न सकेन । छलफल सकारात्मक रहे पनि टुङ्गोमा भने नपुगिएको दुवै पार्टीका नेताहरूले बताएका छन् ।

छलफलपछि प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले ओलीलाई सरकारबाट हटाउने सहमति नजिक नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू पुगेको बताउनुभयो । यसबारे चाँडै तीन दलबीच पुनः छलफल हुने उहाँको भनाइ थियो । सरकारसँग रेशम चौधरीको रिहाइको एजेन्डामाथि मात्रै छलफल भएको बताउँदै अध्यक्ष यादवले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको जिकिर गर्नुभयो ।

बैठकमा सहभागी जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने छलफललाई निरन्तरता दिने सहमति भएको बताउनुभयो । उहाँले आफूहरूका लागि एमाले, कांग्रेस र माओवादी सबै उस्तै रहेको भन्दै सत्ता समीकरणमा कोही नजिक वा कोही टाढा नरहेको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनका विषयमा छलफल भए पनि ठोस निर्णयमा भने नपुगेको बताउनुभयो । नयाँ सरकारको समीकरणबारे कांग्रेस, माओवादी र जसपा गरी तीनवटै दल बसेर पनि वार्ता गर्ने सहमति भएको उहाँको भनाइ थियो ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ प्रकाश र जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसहित छलफलमा सहभागी थिए ।