१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीको एक्सनमा नेपालको रिक्याक्सन, समानान्तर कमिटी गठन


0
Shares

काठमाडौं । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षीय नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले समानन्तर कमिटी गठन गरेको छ । शनिबार बसेको नेपाल पक्षको बैठकले आफ्ना तर्फबाट समानान्तर कमिटी गठन गरेको हो ।

जस अन्तर्गत प्रदेश १ को संयोजकमा भीम आचार्य, प्रदेशको संयोजकमा घनश्याम भूषाल, बागमती संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीको संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी भीम रावललाई दिइएको छ ।

यस्तै युवा कमिटी संयोजकमा रघुजी पन्त, विद्यार्थी कमिटीमा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टाराई, महिला विभागमा अष्टलक्ष्मी शाक्य र वुद्धिजिवी कमिटीमा प्रमेश हमाललाई संयोजक तोकिएको छ ।

शुक्रबार मात्रै केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सदस्यहरूको भेलामा प्रधानमन्त्री ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाउनुभएको थियो ।

यस्तै उहाँले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको गर्नुभएको थियो । एकताअघि २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ओली पक्षका नेता १ सय २ जना थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा मनोनीतमध्ये ओली पक्षमा २८ सदस्य थिए ।

१ सय ३० जना केन्द्रीय सदस्य रहेको भनिएको एमालेको पहिलो बैठक बसेर माओवादी केन्द्रबाट आएका नेताहरू रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेपछि बसेको दोस्रो बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।