२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडाैंमा नेपाल पक्षीय अनेरास्ववियूको भेला, ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घाेष


0
Shares

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल निकट अनेरास्ववियूले उपत्यकास्तरीय भेला आयोजना गरेको छ । भेलालाई अनेरास्ववियूका सचिवहरू सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेका थिए ।

भेलामा अनेरास्ववियूका सचिव सुदेश पराजुलीले केपी ओलीले कम्युनिष्ट जनमतको घाँटी रेटेर कम्युनिष्ट पार्टी नै समाप्त पार्ने अभियानमा लागेको आरोप लगाउँदै आन्दोलन जोगाउने जिम्मेवारी आफूहरूको काँधमा आएको बताउनुभयो । केपी ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्न विदेशीहरूले तयार पारेको खलनायक भएको उहाँको आरोप छ ।

ओलीको राजकिय र पार्टी सत्ता ढल्ने निश्चित भैसकेपछि पराजित मानसिकताले जथाभावी गर्न थालेको अर्का सचिव वसिम आलमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जब मान्छेले आफु पराजित भएको महसुस गर्छ, तब उसले आफूलाई जोगाउन हरसम्भव प्रयास गर्छ र त्यतिबेला थप गलत कदम चाल्दै जान्छ, आज केपी ओली त्यहि बाटोमा छन् ।’

ओलीले अष्टलक्षमी शाक्य र भीम रावलको भन्दा माओवादी केन्द्रबाट आएकाहरूको योगदान ठूलो देख्दा कम्युनिष्ट आन्दोलनलाई बिखण्डनतर्फ लागेको आलमले बताउनुभयो । उहाँले पार्टी र आन्दोलन जोगाउन आफूहरू सडकमा आएको स्पस्ट पार्नुभयो ।

अर्की सचिव आरती लामाले ओली विरुद्धको संघर्ष थप पेचिलो बन्न सक्ने तर आफूहरूले घुँडा नटेक्ने बताउनुभयो ।

भेलामा उपत्यकाका तीन जिल्ला तथा क्याम्पसहरूका विद्यार्थीहरू सहभागी थिए ।