सभामुख महराको अभिव्यक्तिको विरोध

news
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारी ।

काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले संसदीय समितिका काम–कारबाहीप्रति सभामुख कृष्णबहादुर महराले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले ‘संसदीय समितिले सरकारलाई नियन्त्रण गर्ने होइन’ भनी दिएको अभिव्यक्ति शक्ति सन्तुलनको सिद्धान्तविपरीत भएको जिकिर गरे ।

बिहीबार एक कार्यक्रममा सभामुख महराले ‘संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्न नहुने’ अभिव्यक्ति दिएका थिए ।

सांसद अधिकारीले ‘सरकार र राज्यका निकायहरु शक्ति सन्तुलनको सिद्धान्तअनुसार चल्नु पर्छ कि पर्दैन ?’ भनी प्रश्न गरे ।

सरकार र व्यवस्थाप्रति सामाजिक सन्जालमा भइरहेका टीका–टिप्पणीलाई हलुका ढंगले हेर्न नहुने भन्दै सांसद अधिकारीले सामाजिक सन्जाल प्रयोगकर्ता पनि नेपाली नागरिक भएको तथ्य बिर्सन नहुने जिकिर गरे ।

‘गणतन्त्रलाई बदनाम गराउने काम’

सत्तारुढ दल नेकपाका सांसद कालीबहादुर मल्लले स्वतन्त्रतालाई केही व्यक्तिले अराजकता बुझेको आरोप लगाउँदै गणतन्त्रलाई बदनाम गराउने काम भइरहेको दाबी गरे ।

बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...