
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच हिजो करिब डेढ घण्टा भेट भएको छ ।
बालुवाटारले नियमित भनेको यो भेटमा मुख्यतः मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझीएको छ ।
प्रधानमन्त्री ओली साँझ ७ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको थियो । उहाँ करिब साढे ८ बजे त्यहाँबाट निस्किनु भयो ।
आफ्नो नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरुबीच छलफल चलिरहेका बेला ओली राष्ट्रपतिलाई भेट्न पुग्नुभएको हो ।
प्रधानमनत्री ओली राष्ट्रपतिसँग परामर्शमा व्यस्त रहँदा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल भने हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा व्यस्त हुनुहुन्थ्यो ।
प्रधानमन्त्री केपी ओलीसँग मिल्न नसक्ने निष्कर्ष निकालेको माधव–झलनाथ समुहले आकिस्मक रुपमा प्रचण्डसँग भेटघाट गर्नुलाई वाम एकताको गृहकार्यको रुपमा हेरिएको छ ।
हिजो पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित नेपाल निवास नजिकै एक घरमा लामो छलफल भएको छ । छलफलमा एमाले नेता झलनाथ खनाल पनि सामेल हुनुहुन्थ्यो ।
छलफलमा प्रचण्डले एकताका लागि ढिलो गर्न नहुने सन्देश दिएको उहाँ निकट स्रोतले बतायो ।
ओलीले चैत्र ७ गते बालुवाटारमा डाकेको एमाले केन्द्रीय कमिटी बैठकमा सामेल नहुने घोषणा नेपाल पक्षले गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्