
प्रकाश नेपाल
इलाम । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको । यो संगै सूर्य अकित अर्को ध्वजा पनि छ । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ ।
तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने पक्कै होईन । इलामस्थित माङसेबुङ गाउँपालिकापर्ने लारुम्बा गाउँको चिनारी हो यो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मथलो हो, माङ्सेबुङ । जसलाई लारुम्बा पनि भनिन्छ ।
धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन्, जसले माछामासु मात्रै होइन, जाँडरक्सी र सुर्तीचुरोट पनि सेवन गर्दैनन् । किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । केही बर्ष अघि मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको थियो ।
जहाँ बाहिरबाट जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोट समेत सेवन गर्न निषेधित गरिएको स्थानीयहरुको भनाई छ । किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ ।
तर त्यस क्षेत्रमा रहेका स्थानिय भने खानेपानी र पहिरोको समस्याको चपेटामा परेको बताउँछन् । गाँउपालिकाले खापानीको लागि पहल गरिरहेको भएपनि कठिन भुगोलका कारण स्थानियको समस्या सहज रुपमा समाधान नहुँदा असहज भइरहेको स्थानिय सुरेस लावतीको गुनसो छ । पानीको असुविधा, पहिरो आयो भने निक्कै समस्या बनाउने उहाँको भनाई छ ।
बिषेश गरी लिम्बू समदायको बसोबास रहेको सो स्थानमा रहेका होटेलमा मासुका परिकार पाइँदैन । पसलहरूमा मादक पदार्थ पाइँदैन । यस क्षेत्रमा जताततै फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाईएको छ । आफैमा स्वच्छ, सफासुघर र हराबरा नमुना गाउँको रुपमा रहेको छ माङ्सेबुङ । त्यसैले पनि यस गाउँको आपसरी मेलमिलाप र असल छिमेकीको चरित्र सबैकोलागि अनुकरणीय बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्