
काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा वीरगंज युनाइटेडले विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा सानेपा क्लबलाई ३–२ गोलले पराजित गर्दै वीरगंजले विजयी सुरुवात गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा वीरगंजलाई जित दिलाउन विवेक चौधरी, सञ्जय चौधरी र आशालाल कुँवरले १–१ गोल गरे । सानेपाका उज्वल लामा र करण तामाङले १–१ गोल फर्काए ।
खेलको १० औं मिनेटमा विवेकले गोल गर्दै वीरगंजलाई अग्रता दिलाउँदा २४ औं मिनेटमा उज्वलले पेनाल्टीमा गोल गर्दै सानेपालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ३२ औं मिनेटमा संजयले गोल गरेपछि वीरगंजले पुन अग्रता लिँदै २–१ को अन्तर कायम राख्यो ।
खेलको ३९ औं मिनेटमा आशालालले गोल गर्दै वीरगंजलाई ३–१ को अग्रता दिलाउँदा दोस्रो हाफको पहिलो मिनेटमा सानेपाका करणले गोल गरेपछि वीरगंज ३–२ ले विजयी भयो । जितसँगै वीरगंजले पहिलो खेलबाट तीन अंक जोडेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्