
रोमन आचार्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर नयाँ सरकार बनाउने सरगर्मी सुरु भएको लामै समय भइसक्यो । सर्वोच्च अदालत फागुन २३ गतेको फैसलासँगै सत्तारुढ पार्टी नेकपा एमाले र माओवादी केन्द्रमा परिणत भएपछि ओलीलाई हटाउने खेल घनिभूत रूपमा चलिरहेको छ ।
माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमात्र होइन, सिटौला समूह र संघीय संसद दुवै सदनका सांसदहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको चाबी हत्याउन दबाव बढाएका छन् । पार्टीभित्रबाट सरकारमा जान इतर खेमा पनि बाधक छैन । देउवा आफैँ भने सरकारमा गइहाल्नुपर्छ भन्ने पक्षमा देखिनुहुन्न ।
त्यसो त ओलीलाई बालुवाटारबाट बालकोट पठाउनकै लागि माओवादीले कांग्रेसलाई प्रधानमन्त्रीको कुर्सी सुम्पन खोजेको हो । ओलीसँग सहमतिनजिक पुगेको भनिएको जसपाभित्र पनि विपक्षी दलहरूको सत्ता समीकरण हुनुपर्छ भन्ने धारणा छ । यस बीचमा दलहरूबीच पटक–पटक अनौपचारिक छलफल भएका छन् । तर, मिति तोकेर पनि त्रिपक्षिय छलफलका लागि बैठक बस्न नसक्नुले राजनीतिको दिशा परिवर्तन भएको आशंका बढाएको छ ।
संस्थापन निकट मानिने केन्द्रीय सदस्य शंकर भण्डारीले भनेजस्तै दलहरूबीचको समीकरणमा भूराजनीतिक आयामहरू बाधक हुनसक्छन् । उत्तर, दक्षिण र पश्चिमा शक्तिकोे स्वार्थ वाझिएका हुन सक्छन् । तर, देशलाई मध्यावधि निर्वाचन गराउनका लागि भए पनि कांग्रेस सत्तामा जानै पर्ने मत हावी छ ।
कांग्रेस अरूको बुँइचढेर सत्तामा पुगे पनि अरूको नेतृत्व स्वीकार गर्ने पक्षमा छैन । सबै दलहरू मध्यावधि निर्वाचनमा उभिँदा कांग्रेसभित्र नेतृत्व गर्नुपर्छ आवाज बलियो छ । आन्तरिक र बाह्य शक्ति सन्तुलन हुने हो भने मात्र देउवाले सरकारको नेतृत्व गर्ने सोच बनाएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्