
काठमाडौं, साउन ८ । राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनकाक्रममा कारबाहीका लागि सिफारिस गरेको छ ।
केन्द्रले कार्यालय समयमा नआउने र पोसाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए ।
केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।
‘हामीले छड्के अनुगमनकाक्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेका छौं’–उनले भने–‘हामीले गरेको सिफारिसअनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछन् ।’
उनकाअनुसार नसिहत दिने, सचेत गराउनेजस्ता कारबाही गर्न सिफारिस गरिएको छ ।
केन्द्रले ४९ जिल्लाका करिब एक हजार १०२ कार्यालयमा छड्के अनुगमन गर्दा ती कर्मचारी कारबाहीमा परेका हुन् ।
यसैगरी, केन्द्रले लक्ष्यभन्दा बढी कार्यालय अनुगमन गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा करिब ५०० कार्यालयको छड्के अनुगमन गर्ने भनिएकामा केन्द्रले लक्ष्यभन्दा दोब्बर एक हजार १०२ कार्यालयको छड्के अनुगमन गरेको केन्द्रका उपसचिवसमेत रहेका सूचना अधिकारी अर्यालले बताए ।
यस्तै, केन्द्रले एक हजार ५२ कार्यालयका नागरिक वडापत्रको अनुगमनसमेत गरेको छ ।
अनुगमनकाक्रममा ती वडापत्र कार्यालयले सेवाग्राहीले नदेखिने ठाउँमा, सानो अक्षरमा राख्ने गरेको पाइएको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्